चितवन,१३, पुस  ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष पुगेको उपलक्ष्यमा राष्ट्रको नाममा गरेको सम्बोधनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धामीको मन्त्रजस्तो भनेर टिप्पणी गरेका छन् ।चितवनको कालिका नगरपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भाषण धामीले अगरबत्ती बालेर मन्त्र पढेजस्तो नबुझिने खालको भएको टिप्पणी गरेका हुन् ।धामीले मन्त्र पढ्दा आवाज निकाल्ने शैलीमै गुनगुनाउँदै ओलीले भने, ‘केही बुझ्नु भयो तपाईंले ? त्योभन्दा केही छर त्यसमा ,प्रधानमन्त्री प्रचण्डले यो एक वर्षको अवधिमा के-के काम गरियो र के गर्न बाँकी छ भनेर भन्न सक्नुपर्नेमा नबुझिने भाषण गरेको ओलीको भनाइ थियो ।ओलीले प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार अर्को दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भनेर सार्वजनिक रुपमा भन्न चुनौती दिए ।नेकपा एमालेले सरकारको कामलाई नजिकबाट खबरदारी गरिरहेको भन्दै ओलीले नराम्रा काम गरेर उम्किन्छु भन्ने नसोच्न चेतावनी दिए ।‘कसैले ढाँट छल गर्न खोज्ला, कसैले लुकिछिपीकन नचाहिने काम गर्न खोज्ला, तर नेकपा एमालेले दूरबिन लगाएर कुनाकुनामा हेरेको छ,’ ओलीले भने, ‘सरकारका काम पाइला पाइलामा हेरेको छ । हरेक ठाउँमा एमालेले हेरेको छ । तसर्थ नराम्रा काम गरेर उम्किन्छु भनेर कसैले नसोचे हुन्छ ।’नेपाली कांग्रेसलाई धार्नी र माओवादी केन्द्रलाई बिसौलीको संज्ञा दिँदै ओलीले उनीहरु एजेण्डाविहीन पनि भएको बताए । तर एमालेसँग राष्ट्रियताको रक्षा गर्ने अभिभारा भएको दाबी उनले गरे ।अहिले एक धार्नीको कांग्रेस, बिसौलीको माओवादी, यस्तै छन् धार्नी बिसौलीवाला,’ ओलीले भने, ‘माओवादी कांग्रेस पार्टीबीच अहिले छलफल चलिराख्या छ, जनताका बीचमा के भन्न जाने हो ? कुन मुखले जाने, के कुरा लिएर जनताकहाँ जाने ? कांग्रेसका केन्द्रीय बैठकहरुले त्यसको समाधान पाएका छैनन् । तर हाम्रो पार्टीको काँधमा यो देशको राष्ट्रियताको रक्षा गर्ने अभिभारा छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here