भोजपुर, ९ पुस |

बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य बढेपछि भोजपुरका किसान उत्साहित भएका छन् । चिराइतो यो वर्ष किसानको घरबाट प्रतिमन(४० केजी) रु ५० हजारले बिक्री भएकाले किसान उत्साहित बनेका हुन् ।यस वर्ष चिराइतो बिक्रीबाट रु १८ लाख आम्दानी भएको टेम्केमैयुङ–१ तिम्माका किसान देवेन्द्र राउतले बताउनुभयो । सुरुमा प्रतिमन ४४ हजारले ३५ मन र प्रतिकेजी रु १० हजारका दरले १० केजी बीउ बेच्न सफल भइएको उहाँको भनाइ थियोे ।चिराइतो र यसको बीउ गरेर रु १८ लाखको बिक्री गरेँ । सुरुमा मैले प्रतिमन रु ४४ हजारमा बेचेँ अहिले प्रतिमन रु ५० हजारमा गाउँबाटै चिराइतो बिक्री भइरहेको छ ।यस वर्ष भोजपुरबाट एक हजार पाँच सय मन चिराइतो जिल्ला बाहिर गएको चिराइतो व्यवसायी सङ्गम राईले बताउनुभयो ।जिल्लाबाट एक हजार पाँच सय मन चिराइतो बाहिरिएको अवस्था छ । मैले मात्र ३० हजार केजी चिराइतो बाहिर पठाए ।”टेम्केमैयुङ–१ तिम्मा र सुम्लिखाको १७ घरबाट मात्र रु एक करोड ६५ लाखको चिराइतो उठाएको उहाँको भनाइ थियो । किसानले यस वर्ष चिराइतोबाट राम्रो आम्दानी लिएको व्यवसायी राईले जानकारी दिनुभयो । आफू पनि जडीबुटी खेतीमा आबद्ध रहेकाले अन्य किसानको चिराइतो सङ्कलन गरेर बाहिर पठाएको उहाँको भनाइ थियो ।अहिले विभिन्न गाउँबस्तीमा व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेका छन् । विगतका वर्षमा मूल्य घटेपछि धेरै किसानले यसको व्यावसायिक खेती छाड्दै गएकामा यस वर्षदेखि मूल्य बढेकाले यसको विस्तार गर्न लागिएको कृषक एकराज विष्टले बताउनुभयो । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरासहितको भाग नै प्रयोग गर्न सकिने स्थानीय किसानको भनाइ छ । चिराइतो बहुउपयोगी जडीबुटी भएकाले भविष्यमा यसको मूल्य अझ राम्रो हुने किसान देवबहादुर विष्टले बताउनुभयो । “यसको महत्व धेरै छ ।एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउँछ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि पकेट क्षेत्रका बनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here