लेखनाथ (कास्की), ७ पुस |

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विपद्का समय निःस्वार्थ भावनाले मानवीय सेवामा सक्रिय रेडक्रसकर्मीको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।नेपाल रेडक्रस सोसाइटी ४१औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको दुईदिने गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै मन्त्री आचार्यले त्यस्तो बताउनुभयो । देशमा विपद् र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएको रेडक्रसका समिति तथा सदस्यमा युवापुस्तालाई बढीभन्दा बढी संलग्न गराउन सक्यौँ भने यसको प्रभावकारिता र क्रियाशीलता अझ बलियो हुँदै जाने भनाइ मन्त्री आचार्यको थियो ।सेवा नै धर्म हो भन्ने मूलमन्त्रका साथ लाखौँको सङ्ख्यामा स्वयंसेवक रहेको यस संस्थामा पछिल्लो समय नेतृत्व तहभित्र केही विवाद सिर्जना भए पनि त्यस्ता समस्या समाधान गर्दै मानवीय सेवामा अगाडि बढ्न मन्त्री आचार्यले सुझाव दिनुभयो ।देशमा परेका विपद् भूकम्प, कोरोना, बाढीपहिरो र महामारीमा रेडक्रसले सरकारको सहयोगी बनेर काम गर्दै बताउँदै देशका सबैजसो जिल्लामा शाखा भएको यस संस्थाका स्वयंसेवक सरकार पुग्नुभन्दा पनि पहिला पुगेर मानवीय सेवामा सहभागी हुने गरेको बताउनुभयो ।नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शन नेपालले युवा वर्गलाई सक्षम र दक्ष बनाउँदै अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो । सकारात्मक परिवर्तनको सोच बनाउँदै नेपाली युवा रेडक्रसमा आबद्ध भई सेवाभावनामा जुट्न सक्यौँ भने देशको विकासमा सहयोग पुग्ने बताउनुभयो ।संस्थाका केन्द्रीय उपाध्यक्ष राधा नेपालीले रेडक्रस देशैभरि नेपाल सरकारलाई सहयोग गर्ने किसिमले मानवीय सेवामा जुट्दै आएको बताउनुभयो । संस्थाका कोषाध्यक्ष भूपतिलाल श्रेष्ठले दुईदिने गोष्ठीले ठोस कार्ययोजना निर्माण गरी अगाडि बढ्नुपर्नेमा सुझाव दिनुभयो ।संस्थाका केन्द्रीय सदस्य तथा युवा विभागका प्रमुख विष्णु नेपालले संस्थामा युवा परिचालन गर्न सक्यौँ भने रेडक्रसको प्रभावकारिता अझ बढी प्रभावकारी बन्न सक्ने बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले देशमा सङ्कट आउँदा रेडक्रसको सहयोग भुल्न नसकिने बताउनुभयो ।गोष्ठीमा ४०औँ राष्ट्रिय गोष्ठीको प्रतिवेदन प्रस्तुत गरी त्यसका बारेमा छलफल, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्राप्त अनुभव साटासाट, कविता तथा निबन्ध प्रतियोगिता, नेतृत्व विकास प्रशिक्षण, स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै प्रतिवेनमाथि छलफल गरी पोखरा घोषणापत्र जारी गरिने जनाइएको छ ।उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुदर्शन नेपालले गर्नुभएको छ । दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा देशैभरिबाट तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here