छिन्चु (सुर्खेत), ७ पुस |

सुर्खेतको पश्चिम लगाममा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । आज चौकुने गाउँपालिका–२ लगाम सुर्खेतमा रहेको कालीबहादुर गणको आयोजना तथा ज्योति फाउन्डेसन र आँखा अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।शिविरबाट चार सय पाँच जनाले सेवा लिएका कालीबहादुर गणका गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले जानकारी दिनुभयो । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको उहाँले बताउनुभयो ।सिलवालका अनुसार चौकुने गाउँपालिका–१, २ र ३ का माथिल्लो र तल्लो लगाम, बडासैन, पोखरे, साताबोला, धम्मु, फिचला, मौरीवन, पिपलकुन्टा, कोसेडा, सिमलखेत, हल्दुखेत, धनरास, पग, सोत, तोलीसैन, रानागैरा, धामीसैन, तालागाउँ, केलाबोट, चायबोट, काप्रीकाँडा, सिमली, धौलीछायाँ, दानीगौडा, सातसल्ली, सिमलगैरा, धौलेकाँडा, थापाथैली र गहुँखाडा गाउँका चार सय पाँच जना नागरिकले सेवा लिएका छन् । “नेपाली सेनाले गर्ने सामाजिक सेवाअन्तर्गत हामीले स्वास्थ्य शिविर सञ्चालन गरेका हौँ । पालिकाका जनप्रतिनिधिसँगको समन्वयमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएका गाउँ रोजेर सेवा दिएका छौँ ।

यसले सर्वसाधारण र नेपाली सेनाबीचको सम्बन्ध सुधार हुने गणपति प्रमुख सिलवालको भनाइ थियो । उहाँका अनुसार शिविरमा कर्णाली प्रदेश अस्पतालका जनरल सर्जन डा उपेन्द्रकृष्ण रेग्मी, स्त्रीरोग तथा प्रसुति विशेषज्ञ डा रोजी यादव, डा दर्पण नेपाली, नेपाली सेनाका उपसेनानी डा मोनिमा महर्जन, सुर्खेत आँखा अस्पतालका ओपिडी इञ्चार्ज अरुण गुप्ताले सेवा दिनुभएको थियो ।स्वास्थ्य सेवा लिन गाडी खोजेर टाढा जानुपर्ने बाध्यताबीच गाउँमै शिविर सञ्चालन भएपछि उपचारमा सहज भएको स्थानीय सुमित्रा थापाले बताउनुभयो । भनेको बेला गाडी नै पाइँदैन । जटिल रोग लागिहालेमा तत्कालै अस्पताल जान सकिने अवस्था पनि छैन ।”गाउँपालिकामा नेपाली सेनाले पहिलो पटक शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष खड्क विकले बताउनुभयो । सडक तथा यातायातको सुविधा कम भएका यहाँका गाउँले गुणस्तरीय स्वास्थ्य सेवा लिन सदरमुकामसम्म जान पनि सास्ती हुने गरेको उहाँको भनाइ थियो । “सेनाले गाउँमा आएर शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई राहत मिलेको छ ।गणपति सिलवालका अनुसार शिविरमा स्त्री तथा प्रसुति रोग, आँखासम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच तथा उपचार गरिएको छ । शिविरमा जाँच गराउन आएकाहरुलाई आवश्यक औषधि पनि वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here