काठमाडौँ, ६ पुस |
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिस्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्द्धन गर्ने बताउनुभएको छ । नेपाल विज्ञापन सङ्घ (आन)को २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले पारदर्शी विज्ञापन बजारले विज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताउनुभयो ।आर्थिक सङ्कुचनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै मन्त्री शर्माले विज्ञापन बजारमा सङ्कुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताउनुभयो । मन्त्री शर्माले विज्ञापन बजार पारदर्शी भएन भन्ने गुनासो सुनेपछि आफूले सरोकारवालासँग छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिनुभयो । सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वाभाविकरुपमा कमिसनको चलखेल हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको उहाँले उल्लेख गर्नुभयो ।मन्त्री शर्माले मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेतको कागजात पेस गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको बताउनुभयो ।विज्ञापन सामग्री लक्षित समुदायको पहुँचमा नपुग्ने गरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने गरिएको उल्लेख गर्दै मन्त्री शर्माले निश्चित क्षेत्र वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिने गरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गरिनुपर्ने खाँचो औँल्याउनुभयो ।








