काठमाडौँ, ३ पुस |
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सहभागिताका कुरा कानुनमा लेखेर मात्र नपुग्ने व्यवहारमा नै लागू गर्नुपर्ने बताउनुभएको छ ।महिला महासन्धिको ४४औँ वार्षिकोत्सवका अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘पूर्ण नागरिक पूर्ण अधिकार ः नागरिकतामा समान अधिकार’ विषयक कार्यक्रममा उहाँले कानुनमा लेखेका कुरा व्यवहारमा कार्यान्वयन हुनुपर्छ भन्नुभयो । “नेपालमा कानुन र व्यवहारमा प्रयोग गर्ने अभ्यास फरक छ।अध्यक्ष तिमिल्सिनाले कानुनमा लेखेका कुरालाई व्यवहारमा बढीभन्दा बढी प्रयोगमा ल्याउन सक्दा नै त्यसको औचित्य साबित हुन्छ भन्नुभयो । कतिपय विकसित मुलुकमा कानुनमा नलेखे पनि व्यवहारमा कार्यान्वयन भइरहेको उदाहरण दिँदै अध्यक्ष तिमिल्सिनाले आरक्ष र विशेष अधिकारको कुरा एउटा निश्चित समयका लागि मात्रै कार्यान्वयन गर्ने र त्यसपछि प्रतिस्पर्धालाई प्राथमिकता दिनुपर्ने धारणा पनि राख्नुभयो ।उहाँले विवाहलगत्तै विदेशी बुहारीले नागरिकता पाउने व्यवस्थासहितको ऐन विवादबीच बनेको पनि बताउनुभयो । कार्यक्रममा राष्ट्रियसभाका सदस्य डा बिमला राई पौडेलले छोरीलाई विश्वास नगर्ने तर बुहारीलाई विश्वास गर्ने कानुनी व्यवस्था रहेको बताउनुभयो । “भारतमा विवाह गरेर जाने नेपाली छोरीले त्यो देशको नागरिक पाउन सात वर्ष कुर्नु पर्छ । त्यही देशबाट नेपाली पुरुषसँग विवाह गर्ने महिला ९बुहारी०ले तुरुन्तै नागरिकता पाउने व्यवस्था हामीले नै पास गरेर पठायौँ ।”राष्ट्रियसभाकी अर्की सदस्य अनिता देवकोटाले छोरा र छोरीको बीचमा विभेद रहेको बताउनुभयो । सम्पत्तिमा समान हक स्थापित नहुँदा छोरी विवाह गरेर पुरुषको घरमा जाने प्रचलन रहन गएको उल्लेख गर्दै उहाँले सम्पत्तिमा समान हक स्थापित गर्न सक्दा धेरै समस्या समाधान हुँदै जाने बताउनुभयो ।मञ्चका कार्यकारी निर्देशक सबिन श्रेष्ठले नागरिकता कानुनका विषयमा प्रस्तुति गर्नुहुँदै संविधानमै लेखिएको विषय कार्यान्वयन हुने गरी कानुन नबन्ने अवस्थाको अन्त्य गर्न सांसदहरुसँग माग गर्नुभएको थियो ।








