चितवनको कालिका नगरपालिका १० जिङलाउमा चिउरीको बियाँ पेलेर घिउ निकाल्दै स्थानीय गोपाल प्रजाको परिवार । यसरी निकालेको घिउ उनिहरुले वर्षभरी तरकारी र सागसब्जीमा प्रयोग गरेर खाने गर्छन् । तस्बिर ः कृष्ण आचार्य/रासस

भरतपुर (चितवन), २ पुस |

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् ।जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” उहाँले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताउनुभयो ।चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।” चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उहाँको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । उहाँले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताउनुभयो । “यसको बजार भाउ छैन । तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन् ।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताउनुभयो । “हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ” । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताउनुभयो ।विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गर्नुभयो ।दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ छ । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताउनुभयो । अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन “यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।” चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here