काठमाडौँ, २ पुस |

आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा श्रमिकका परिवारले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष ‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’ भन्ने मूल नारासहित यो दिवस मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारीले दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै देशको आर्थिक र सामाजिक विकासमा आप्रवासी नेपालीको योगदानको प्रशंसा गर्नुभयो । “हाल विश्वव्यापीकरणलगायत विषयले आप्रवासन समाजको अभिन्न अङ्ग बन्न पुगेको छ । यस दिवसका अवसरमा सम्बद्ध सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा अत्यन्त कठिन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पु¥याउनुभएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद दिन चाहन्छु ।”

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गर्नुभएको छ । सन् १९९० देखि संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसरमा हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाउँदै आइएको हो ।मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले दिवसको शुभकामना दिँदै सुरक्षित तथा मर्यादित श्रमको सुनिश्चितताका लागि सरोकारवाला सबैको समन्वय आवश्यक रहेको बताउनुभयो । सबैको एकीकृत प्रयासबाट सकारात्मक नतिजा आउने उहाँको भनाइ थियो । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेतीले पछिल्ला वर्षमा द्वन्द्व, असुरक्षा र जलवायु परिवर्तनको प्रभावलगायत कारणले विश्वभरि आप्रवासन बढ्दै गएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारमा जाँदा सरकारले निर्धारण गरेको प्रक्रियाको पूर्णपालना गर्न आग्रह गर्नुभयो ।दिवसका अवसरमा आप्रवासी श्रमिकले आफ्नो अधिकार सुनिश्चितताका साथै आवश्यक सम्पूर्ण सेवासुविधा प्राप्त गर्ने शुभेच्छा प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here