महेन्द्रनगर, २९ मङ्सिर |
कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हँुदै गएको हो ।जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा दुई हजार पाँच सय २२ महिलाले यो सेवा लिएको बताउनुभयो । कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा गएर सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो ।स्वास्थ्य कार्यालयका अनुसार चालु आवको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको पाइएको छ ।नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालयका प्रमुख उद्धव भट्टले पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि हँुदै गएको बताउनुभयो । “पहिला निश्चित ठाउँ भएकाले परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे ।कञ्चनपुरमा परिवार नियोजन सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने सतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको जनाएको छ ।अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न सक्छ ।”








