काठमाडौँ, २८ मङ्सिर  |

यही मङ्सिर १८ गतेदेखि सुरु मिथुन उल्कावर्षाको आज राति अत्यधिक सक्रियता रहने नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले जनाएको छ ।अत्यधिक सक्रिय समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो । योे उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हँुदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिँदै छ । उल्कावर्षाको समयमा उल्काहरु मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा ९जेमिनिड मेट्योर शावर० नामकरण गरिएको उहाँले बताउनुभयो ।उल्कावर्षा हेर्न चाहने सर्बसधारणले आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण कम भएको स्थानबाट अवलोकन गर्न तथा तस्बिर खिच्न सक्नेछन् । अवलोकनको लागि आज राति ८ः०० बजे देखि शुक्रबार बिहान ५ः३० सम्मको समय अनुकुल हुने सोसाइटीले जनाएको छ । उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम देखिन्छ । मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेका लागि सन् २०२३ कै उत्कृष्ट समय हुनेछ । उल्कावर्षा हेर्र्न कुनै दुरबिन वा टेलिस्कोपको आवश्यकता पर्दैन ।सोसाइटीले विज्ञप्ति मार्फत् देशभर छरिएर रहेका सदस्य तथा शुभचिन्तकलाई आआफ्ना स्थानमा रहेका नजिकैका खुल्ला स्थानबाट हेर्न र तस्बिर लिन आग्रह गरेको छ । सबै अवलोकनकर्तालाई आफ्ना तस्बिर सोसाइटीको कार्यालयमा पठाउन पनि अध्यक्ष भट्टराईले आह्वान गर्नुभएको छ । प्राप्त तस्बिरलाई सोसाइटीले सामाजिक सञ्जालामार्फत् सार्वजनिक गर्ने पनि सोसाइटीको विज्ञप्तिमा उल्लेख छ । उल्कावर्षासम्बन्धी थप जानकारीका लागि सोसाइटीको कार्यालयमा सम्पर्क गर्न सकिने पनि जनाइएको छ । हाल जारी उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने उहाँले सुनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here