म्याग्दी, २४ मङ्सिर |

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउन नयाँ गन्तव्यको विकास गरिएको छ । स्थानीय समुदाय, अन्नपूर्ण गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको निकायमार्फत घोडेपानी–पुनहिल आसपासमा नयाँ गन्तव्य बनाइएको हो ।घोडेपानीका बासिन्दा तथा अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले प्यारीबाराही ताल, फूलबारी, मोहरेडाँडा, कालीसारलाई नयाँ गन्तव्य बनाएर पर्यटकको बसाइ लम्बाउन पहल गरिएको जानकारी दिनुभयो । “घोडेपानी समेटिएको अन्नपूर्ण चक्रीय पदमार्गको यात्राअवधि सडक बनेपछि १५ दिनबाट सात दिनमा छोटिएको छ ।”अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीदेखि वडा नं ७ को प्यारीबाराही ताल जोड्ने साइकल र पोन्नी ‘टे«ल’ (घोडा मार्ग) निर्माण भएको स्थानीयबासी सुशील पुनले बताउनुभयो । “लालिगुराँसको घना जङ्गलको बीचमा समथर चौर भएको कालीसार भन्ने ठाउँमा चरा अवलोकनस्थल बनाइएको छ।भालखारामा पर्यटक चढ्ने घोडा बाँध्ने तबेला निर्माण भएको छ । घोडेपानी र प्यारीबाराही क्षेत्रको जङ्गलमा डाँफे, कालिज, मृग, चितुवा, घोरललगायत वन्यजस्तुको अवलोकन गर्न सकिन्छ । जङ्गलको बीचमा रहेको प्यारीबाराही तालको धार्मिक तथा पर्यटकीय सम्भावना रहेको पुनले बताउनुभयो । उहाँका अनुसार तालमा हिमालको छायाँ देख्न सकिन्छ ।जनैपूर्णीमा पर्वमा यहाँ पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने विश्वासका साथ मेला लाग्ने गरेको स्थानीय बताउँछन् । करिब दुई सय मिटर लम्बाइ र एक सय मिटर चौडाइमा गोलो आकारमा फैलिएको ताल आकर्षक छ । तालमा खस्ने पात चराले टिपेर फाल्ने गरेको स्थानीयवासी बताउँछन् ।

डिभिजन वन कार्यालयको सहयोगमा कालीसारमा ५० रोपनी खाली चौरमा विभिन्न संरचना निर्माण गरेर गुराँसपार्क बनाइएको वडा नं ६ का वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । “ठूलाठूला अक्षरको ब्लकबाट पोखरा–जोमसोम उडान भर्ने पर्यटकले जहाजबाटै हेर्न सक्ने गरी गुराँसपार्क लेखिएको सेल्फी बोर्ड बनाइएको छ ।”पार्कभित्र ढुङ्गा विछ्याएर पदमार्ग बनाइएको खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कबाट गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । “पार्कको छेउमा खोल्सा परेको भाग थुनेर वन्यजन्तुका लागि पानी पिउने पोखरी पनि बनाइएको छ । घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ ।घान्द्रुकदेखि घोडेपानी–नागीसम्म सबैभन्दा ठूलो लालीगुराँसको जङ्गल छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप) को अभिलेखअनुसार नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । त्यसमध्ये घोडेपानी क्षेत्रको जङ्गलमा आठ प्रजातिका पाइन्छन् । पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीवराह ताल पुगिन्छ । फर्कंदा प्यारीवराहबाट भलखराचौर हुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्कहुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सक्छन् । प्यारीबराहदेखि घोडेपानीसम्मको घोडाचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ ।डिभिजन वन अधिकृत मनोज रानाभाटले पार्क, घोडा, साइकल र घोडा मार्गमा पर्यटकको चहलपहल बढ्न र घोडेपानीमा पर्यटकको बसाइ अवधि लम्बिएको बताउनुभयो । कार्यालयले तीन वर्षअघि पनि अन्नपूर्ण–७ रिमा गाउँको सिरानमा रहेको नेसरानी सामुदायिक वनको ४० रोपनी घेराबन्दी गरी गुराँसपार्क बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here