सुन्दरहरैँचा (मोरङ), २३ मङ्सिर |
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले २९ दशमलव ६० किमी लम्बाइको मोरङ लेटाङ–६ नं बुधबारे सडकको शिलान्यास गर्नुभएको छ ।पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्री कार्कीले रणनीतिक योजनाको सडकको शिलान्यास गर्नुभएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबीसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा बताउनुभयो ।उहाँले सडक निर्माणपछि यस भेगका कृषि उत्पादन बजारसम्म पुर्याउनका साथै उत्पादनमा लाग्ने साधन स्रोतलाई किसानसम्म पुर्याउनका लागि महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो । अब अन्य आयोजनाको छनोट गरेर आवश्यकता आधारमा निर्माण हुने जनाउँदै मुख्यमन्त्री कार्कीले सुनिश्चिततासहित योजना छनोट हुने बताउनुभयो ।कार्यक्रममा सहभागी वक्ताहरूले समयमै निमाणकार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका छन् । सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी रु ८७ करोड तीन लाख ५३ हजार २७ मा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीम पौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने बताउनुभयो ।







