काठमाडौँ, २२ मङ्सिर |
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानको अवसरमा सञ्चारिक समूह र कोसिस नेपालको संयुक्त आयोजनामा ‘मानसिक स्वास्थ्य र महिला हिंसा’सम्बन्धी छलफलमा मन्त्री आचार्यले सबै क्षेत्रका महिलालाई आफ्ना हक, अधिकारबारे अवगत गराई महिलाविरुद्धका हिंसा उन्मुलन गर्ने जागृतिका कार्यक्रम व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।“नेपालको संविधानले परिकल्पना गरेको समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने व्यवस्था भए पनि सोहीअनुरुप कार्यान्वयन हुन सकेको छैन । अहिले पनि लैङ्गिक हिंसा रोकिएको छैन ।मन्त्री आर्चायले संविधानले परिकल्पना गरेको समतामूलक समाज निर्माण गर्न समाजका हुने महिला हिंसाविरुद्धका विकृति विसङ्गतिलाई नहटाउनुपर्नेमा उहाँले बताउनुभयो । “संविधान, कानुनमा भएका व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा समाजमा दाइजो प्रथा, यौन दुव्र्यवहार, अमानवीय व्यवहारलगायत महिलामाथि हुने हिंसा अझै व्याप्त छन् । महिला हिंसाविरुद्धको गतिविधि उन्मुलन गर्न लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय १६ दिने अभियानमा पुरुषको सहभागिता सुनिश्चित गर्नुपर्ने र महिलालाई आर्थिक रुपान्तरणमा सबल बनाउन महिला सशक्तीकरण गर्न जरुरी भएको उहाँले बताउनुभयो ।सञ्चारिक समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रका निर्णायक तहमा महिला सहभागिताको आवश्यकता रहेको बताउनुभयो । कोसिस नेपालका कार्यकारी निर्देशक मातृका देवकोटाले महिलाविरुद्धका हिंसाबाट पीडित तथा प्रभावित व्यक्तिमा जटिल प्रकारका मनोसामाजिक समस्याको विकसित हुन नदिन संस्थाले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।








