महोत्तरी, २१ मङ्सिर |
सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परालाई महोत्तरीको बर्दिबास–१४ का एक परिवारले अनुशरण गरेका छन् ।आफ्ना दिवङ्गत पितामाताको स्मृतिमा यहाँका एक हमाल परिवारले रु एक करोडभन्दा बढी लागतको धर्मशाला बनाएर समुदायलाई हस्तान्तरण गरेका हुन् । बर्दिबास–१४ स्थित रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सञ्चालनमा आएको छ ।स्थानीय समाजसेवी नीरबहादुर हमाल र उहाँकी दिवङ्गत पत्नी रत्न हमालको स्मृतिमा बर्दिबास–१४ श्री रामजानकी मन्दिर परिसरमा निर्मित नीर–रत्न धर्मशाला सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको हो । स्व हमाल दम्पतीका भाइ मीनबहादुर हमाल र अर्थबहादुर हमाल एवं छोरा डा कृष्णबहादुर हमाल, चिरञ्जीवी हमाल, ओमकार हमाल, ईश्वर हमाल, र दीपक हमाल तथा छोरी दुर्गा हमालसहितले संयुक्तरुपमा यो धर्मशाला निर्माण गर्नुभएको हो ।विसं २०११ मा स्व नीरबहादुर हमालले दान गर्नुभएको ११ कट्ठा १५ धुर क्षेत्रफलको जग्गाभित्र निर्मित मन्दिर परिसरमै अहिले धर्मशाला निर्माण भएको हो । बर्दिबास–२ स्थित जनता माध्यमिक विद्यालयको स्थापना र सञ्चालन एवं बर्दिबास–१४ मा बजार बसाउनुभएका स्व हमालले यी संस्था सञ्चालनका लागि १० बिघाभन्दा बढी जग्गा दान गर्नु भएको थियो । स्व पिता माताको स्मृतिमा धर्मशाला निर्माण गरी समुदायलाई हस्तान्तरण गरिदा समाज उत्प्रेरक स्व बुबा÷आमाको सही तरिकाले सम्झना गरिएको अनुभूति आफूहरूलाई भएको नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहनुभएका चिरञ्जीवी बताउनुहुन्छ । धर्मशाला निर्माणमा रु एक करोड पाँच लाख खर्च भएको उहाँले जानकारी दिनुभयो ।
दुईतले यो पक्की धर्मशाला भवनको भुईं तलामा उत्तरतर्फ फराकिलो पटाङ्गिनीसहित खानेपानी धारा र शौचालय सुविधासहितका तीनवटा कोठा छन् । भुईंतलाकै मुख्य सडकतिर पर्ने दक्षिणपट्टी व्यापारिक प्रयोजनका तीन कोठा छन् । यसैगरी माथिल्लो तलामा दुई सय मानिस अटाउने क्षमताको सभा भवनसहित आन्तरिक शौचालय सुविधासहितको एक फराकिलो अतिथिकक्ष छ ।धर्मशाला व्यवस्थापनमा व्यापारिक प्रयोजनले बनाइएका सटरको आम्दानी विवाह, व्रतबन्ध, धार्मिक र सांस्कृतिक समारोहका लागि उपलब्ध गराइँदा लिइने न्यूनतम शुल्कले सहज हुने विश्वास गरिएको छ । परिसरभित्रै विवाहमण्डप पनि निर्मित छ ।बर्दिबास हटिया नजिकै निर्मित यो धर्मशालाले अब वैवाहिक, अन्य धार्मिक र सांस्कृतिक समारोहका पाहुनाको बसोबास व्यवस्थपनमा निकै सहज हुने बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत हमाल बताउनुहुन्छ । मधेसको प्राचीन मिथिलाक्षेत्रमा केही दशकअघिसम्म कीर्तिकै लागि विद्यालय, धर्मशाला, इनार, पोखरी निर्माण गर्ने र चौतारी बनाउने परम्परा थियो । मिथिलामा थुप्रै दानवीरले निर्माण गरेका यस्ता भवन अझै खडा छन् । पछिल्लो कालमा हराउँदै गएको यो उदात्त परम्परालाई स्व हमाल दम्पतीका सन्तानले अनुशरण गरेर निकै राम्रो काम गरेका अहिले बर्दिबासका पाका मैथिल बताउँछन् ।








