टीकापुर (कैलाली), २० मङ्सिर |
कैलालीका महिला स्वास्थ्य स्वयम् सेविकाले सरकारले आफूहरुको श्रमको मूल्य नबुझेको गुनासो गरेका छन् । रातदिन नभनी स्वास्थ्य सेवा प्रभावकारी बनाउन तथा समुदायका समस्यामा समाधानका लागि काम गरे पनि सरकारले मूल्याङ्कन नगरेको भन्दै गुनासो गरेका हुन् ।टीकापुरकी महिला स्वास्थ्य स्वयम् सेविका रामप्यारी चौधरीले विगतमा स्वयम् सेविका हुन हौसिने महिला आजभोलि निराश हुन थालेका बताउनुभयो । उहाँले सरकारले स्वयम् सेविकालाई काम थप्दै गएको तर सुविधा नथपेको गुनासो गर्नुभयो ।“सामान्य श्रमिकको ज्याला पनि दैनिक रू छ सय छ । हामी दिनभरि काम गरेपछि रू चार सय मात्र पाउँछौँ । आजभोलि नयाँ स्वयम् सेविका बन्न महिलाको रुचि छैन । कैलालीका पढेलेखेका स्वयम् सेविका साथी विदेश जान थालेका छन् ।सरकारले सामान्य सुविधा दिए पनि स्वयम् सेवामा आकर्षण बढ्ने स्वयम् सेविका बताउँछन् । “हामीले गाउँघरमा क्लिनिक, खोप कार्यक्रम, आमा समूहका बैठक तथा वडा र नगरपालिकाका सबै अभियानमा सहयोग गर्नुपर्छ ।”स्वयम सेविका रुक्मिणि शर्माले थुप्रै चुनौती पार गर्दै स्वयम् सेविका बनेको भन्दै स्वास्थ्यका कुरा महिलाले महिलासँग बढी गर्ने गरेका बताउनुभयो । आफ्नो काममा सन्दर्भमा परिवारका पुरुषले नबुझि दिँदा समस्या हुने गरेको उहाँको भनाइ थियो ।“हामीले महिला र किशोरीलाई स्वास्थ्य र पोषणबारे जनचेतना जगाउने काम गर्छौँ ।”स्वयम् सेविका टीकापुरका संयोजक सुला रावल खत्रीले स्वयम् सेविकाले श्रमअनुसारको पारिश्रमिक नपाउँदा घरमा पनि हिंसा भोगिरहेका बताउनुभयो । “पकाउँदा पकाउँदै, बारीमा काम गरिरहेका बेला पनि सामाजिक अभियानमा हिँड्नुपर्छ । फोन आयो, कोही समस्यामा प¥यो भने सहयोग गर्न जानुप¥यो । यसो गर्दा घर व्यवस्थापन लथालिङ्ग हुन्छ ।टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले टीकापुरमा कार्यरत सम्पूर्ण स्वम् सेविकाका सेवा सुविधा वृद्धि गर्ने बताउनुभयो । “हामीले सेवा अवधिपछि अवकाश भएर घर जाँदा स्वयम् सेविकालाई बिदाईका बेला रू ८० हजार दिने गरेका छौँ । यो सुविधा पनि वृद्धि तयारीमा छौँ ।”








