महेन्द्रनगर (कञ्चनपुर), १८ मङ्सिर |

कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु हुदैछ ।यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको छ ।सशस्त्र प्रहरी बल नं ७ वैजनाथ मुख्यालय अत्तरीयाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले कैलालीको बङ्गग्राकटान र कञ्चनपुरको डोकेबजारबाट दिउँसोबाट मर्मत सम्भारको काम सुरु हुने जानकारी दिनुभयो ।“सरकारले दिएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरी बलले आजबाट भारतीय पक्षसित समेत सहकार्य र समन्वय गरी सीमास्तम्भ मर्मतको काम सुुरु गर्दैछ ।” उहाँले भन्नुभयो, “विछोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गर्नेछ ।” कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नं ३५ गण मुख्यालय र कैलालीमा नं ३४ गणले सो कार्य गर्नेछ ।त्यसैगरी सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम रावलले सुरक्षा समिति र जनप्रतिनिधि र भारतीय सीमा सुरक्षा बल (एसएसबी) समेतको उपस्थितिमा सोमबार दिउँसो डोकेबजारस्थित मुख्य सीमास्तम्भ ७५३ बाट मर्मतको काम सुरु हुने जानकारी दिनुभयो ।कञ्चनपुरमा पर्ने मुख्य सीमास्तम्भमध्ये ६६ वटा सशस्त्र प्रहरी बलले मर्मत गर्नेछ भने १३ वटा एसएसबीले गर्ने छ ।” प्रहरी उपरीक्षक रावलले भन्नुभयो, “त्यसका लागि सरकारले नापी विभागबाट समेत एक जना प्रतिनिधि खटाएको छ ।”उहाँले विसं २०१४ पछाडि बनेका सीमास्तम्भ मात्रै मर्मत÷सम्भार गर्ने जिम्मेवारी सरकारबाट प्राप्त भएको बताउनुभयो । पछिल्लो केही वर्षयता सुदूरपश्चिम प्रदेशका सीमानाकामा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै लगेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here