बेनी (म्याग्दी), १७ मङ्सिर |

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ मोटरेबल पुल निर्माण भइसकेका छन् ।पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला–खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताउनुभयो । “बेगखोलालगायतका धेरै खोलामा वर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपथ्र्यो, कतिपटक त सवारीसाधन नै खोलाले बगाएका पनि थिए, अब यो समस्या विस्तारै कम हुँदै गएको छ।आयोजनामार्फत १३ र सडक विभागअन्तर्गतको पुल महाशाखाले तीन गरी १६ मोटरेबल पुल निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिनुभयो । गलेश्वरस्थित राहुघाट, बेगखोला, तिप्ल्याङ, पोखरेबगर, दाना, मुस्ताङको लुप्राखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ ।यस्तै मुस्ताङको छान्ताङखोला, लेतेखोला, लोमान्थाङ खोला, किम्लिङ खोला, नामडोक खोला, भर्माखोला, स्याङखोला र घट्टेखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ ।रुप्से झरना, मुस्ताङको खहरेखोला, सेताखोला, पाण्डाखोला र लेतेखोलामा पुल निर्माणका लागि प्रस्ताव गरिएको इन्जिनियर चापागाईँले जानकारी दिनुभयो । बेनी–जोमसोम–कोरला खण्डका विभिन्न आठ स्थानमा पक्की मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले बताउनुभयो ।यसैगरी पुल महाशाखामार्फत मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ । बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको जनाएको छ । पर्वतको मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय आठ किलोमिटर दूरीको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक विगत सात वर्षदेखि स्तरोन्नतिसहित कालोपत्र योजना सञ्चालन गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here