चितवन, १७ मङ्सिर |
पश्चिम चितवनको लगौटाकी सचिना नेपाली बिहानीमा क्याम्पस पढ्नुहुन्छ । नेपाली दिउँसोमा घर नजिकै रहेको आधारभूत विद्यालयमा स्वयंसेवक शिक्षिका हुनुहुन्छ । भरतपुर महानगरपालिकाले दरबन्दी कम भएका विद्यालयमा स्वयंसेवक शिक्षक राखेको छ । यसरी शिक्षक राख्दा पढ्दै गरेका युवालाई प्राथमिकता दिने गरिएको महानगरले जनाएको छ ।स्वयंसेवक शिक्षक भएबापत पाउने रकमले उनीहरुको पढाई शुल्क र पकेट खर्च हुने स्वयंसेवक शिक्षक बताउँछन् । दुई वर्षदेखि स्वयंसेवक शिक्षक बन्नुभएकी नेपालीले यो अवसरले आफू पढ्दै र पढाउदै गर्न पाएको बताउनुभयो ।कक्षा १२ उत्तीर्ण पछि अहिले उहाँ स्थानीय सहिद स्मारक कलेजमा स्नातक तहमा अध्ययन गर्दै हुनुहुन्छ । उहाँ जस्तै एक सय ५० युवा भरतपुर महानगरपालिकामा स्वयंसेवक शिक्षक रहेका छन् ।महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार कक्षा १२ उत्तीर्ण गरेकाहरुले बालविकास, प्राथमिक र आधारभूत तहमा एवं स्नातक गरेकाले माध्यामिक तहमा पढाउन पाउँछन् । बालविकासका स्वयंसेवक शिक्षकका लागि रु १० हजार तथा प्राथमिक, आधारभूत र माध्यमिक तहका शिक्षकका लागि क्रमशः रु १५, रु १७ र रु २० हजार तलब दिने गरिएको उहाँले जानकारी दिनुभयो ।
पौडेलले युवा र विद्यार्थीलाई प्राथमिकता दिइएको बताउनुभयो । यस कार्यले काम गर्दै र पढ्दै गर्न सहज होस् भनेर प्राथमिकता दिएका छौँ ।” पढाएर पाउने पारिश्रमिकले पढ्न पुग्ने उहाँको भनाइ छ । ग्रामिण क्षेत्र बाहेक अन्य क्षेत्रमा अधिकांश विद्यार्थी नै रहेको उहाँले जानकारी दिनुभयो ।अङ्ग्रेजी, गणित र विज्ञान मूल विषय भएकालाई मात्र अवसर दिइएकाले विद्यालयको शैक्षिक रुपान्तरण गर्न कार्यक्रम निकै सहयोगी बनेको पौडेलले बताउनुभयो । अभिभावकको मागअनुसार शिक्षा दिन सहयोगी भएको उहाँको भनाइ थियो । प्राथमिक तहसम्म जुनसुकै विषय पढेकाले पनि पढाउन पाउने प्रावधानका कारण अङ्ग्रेजी, गणितजस्ता विषय पढाउन कठिन हुने भएकाले स्वयंसेवी शिक्षक थप उपयोगी भएको उहाँले बताउनुभयो ।दरबन्दी नपुगेका सामुदायिक विद्यालयमा युवा स्वयंसेवक शिक्षक उपलब्ध गराइरहेको शैक्षिक प्रशासन महाशाखा प्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थी सङ्ख्या बढी भएका र दरबन्दी नपुगेका विद्यालयमा युवा स्वयंसेवक शिक्षक खटाइएको हो ।युवा स्वयंसेवक शिक्षकका लागि वार्षिक झन्डै रु तीन करोड बजेट लाग्ने महानगरले जनाएको छ । महानगरले दुई वर्षअघि परीक्षणका रुपमा २९ जना स्वयंसेवक शिक्षक राखेको थियो ।
महानगरमा जति कक्षासम्म स्कुल छ, त्यति नै शिक्षक राख्ने अवधारणा बनाइएको छ । कक्षा ८ सम्म सञ्चालित स्कुलमा आठ शिक्षक हुन्छन् भने कक्षा १० सम्म सञ्चालित स्कुलमा १० जना शिक्षक अनिवार्य राख्ने योजनामा भरतपुर महानगर छ । यसअनुसार दरबन्दी नपुगेको ठाउँमा युवा स्वयंसेवक शिक्षक राख्न विद्यालयले अनुमति पाउने गर्दछ ।भरतपुर महानगरभित्र एक सय १२ सामुदायिक, चार धार्मिक र ९२ संस्थागत विद्यालय छन् । ती विद्यालयमा ९० हजार हाराहारी विद्यार्थी अध्ययनरत रहेका छन् । सामुदायिक विद्यालयमा पढाउनका लागि एक हजार दुई सय ९० स्वीकृत दरबन्दी रहेको छ । यसका अतिरिक्त शिक्षण सहयोग अनुदान र निजी स्रोतका शिक्षकसमेत रहेका छन् ।