काठमाडौँ, १६ मङ्सिर |
काठमाडौँमा आजदेखि तेस्रो अन्तरराष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तरराष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु भएको छ ।बबरमहलस्थित नेपाल कला परिषद्मा कूल ३९ देशका तीन सय ४३ कलाकृति प्रदर्शनीसहित सुरु भएको महोत्सवको आज युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले उद्घाटन गर्नुभयो ।उक्त समारोहमा उहाँले कलाले मुलुकको पहिचान विश्वसामु पु¥याउने र पर्यटन विकासमा योगदान गर्ने भएकाले यसको विकास गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो । मन्त्री लिम्बूले कला क्षेत्रको विकास र प्रवद्र्धनका लागि आफ्नो क्षेत्रबाट समन्वय र सहकार्य गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले निजी क्षेत्रबाट ३९ देशका कलाकार र उनीहरुका कृति समेटेर कला प्रदर्शनीसहित महोत्सव गर्नु आफैँमा नमूना कार्य भएको बताउनुभयो ।कार्यक्रममा भारतबाट आएका मास्टर्स आर्टिष्ट एवम् अन्तरराष्ट्रिय जलरङ समाजका उपाध्यक्ष अमित कपुरले कला सिर्जनाकै लागि आफू पटकपटक नेपाल आएको र यहाँको सुन्दरताले आफूलाई लोभ्याएको बताउनुभयो ।कार्यक्रममा कला समीक्षक रमेश खनाल, मदन चित्रकार, अन्तरराष्ट्रिय जलरङ समाजका कोषाध्यक्ष, भीम श्रेष्ठ, महासचिव दीपेन्द्रमान बनेपाली लगायतले कलाको महत्वबारे प्रकाश पार्नुभएको थियो ।
राससकर्मी ढुङ्गाना पुरस्कृति
कार्यक्रममा अग्रज कलाकार मदन चित्रकारलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिएको थियो । यस्तै राससकर्मी नारायण ढुङ्गानालाई रु १० हजार राशिसहित अन्तरराष्ट्रिय जलरङ पत्रकारिता अवार्डबाट सम्मान गरिएको थियो ।जलरङको माध्यामबाट कला सृजनाको विकासमा पत्रकारितामार्फत पु¥याएको योगदानको कदर गर्दै ढुङ्गानालाई पुरस्कृत गरिएको कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिनुभयो । सो क्रममा वाटरकलर ‘योङ आर्टिष्ट अवार्ड’बाट जीवन पौडेल र ‘इन्टरनेसनल आर्ट प्रमोसनल अवार्ड’बाट चर्चित श्रेष्ठलाई सम्मान गरिएको थियो ।कार्यक्रममा सहभागी कलाकारहरुको चित्र प्रतिस्पर्धाबाट म्यान्माका कलाकार मयन्ट नइङलाई तीन सय डलरसहित स्वर्ण अवार्डबाट पुरस्कृत गरिएको छ भने एक सय ५० डलरसहित भारतका सिलम्ब्रासन के लाई कास्य अवार्र्ड प्रदान गरिएको छ । यस्तै बङ्गलादेशका अरिफर रहमान टोप्पु, मेक्सिकोका बेत्रिज ए.एच.अर्टेजा र नेपालका थमन सिंह सुनारलाई उत्कृष्ट अन्तरराष्ट्रिय वाटरकलर अवार्ड प्रदान गरिएको छ । बबरमहलमा मास्टर र अतिथि कलाकारबाट कला डेमोस्ट्रेसन भइरहेको छ ।कार्यक्रममा झन्डै विदेशीसहित दुई सय कलाकारको प्रत्यक्ष सहभागिता रहेको छ । जलरङ महोत्सवअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा गएर कला कार्यशालासमेत हुने तथा कलाकारहरुलाई नगरकोट लगेर सूर्याेदय र सूर्यास्तको दृश्यावलोकन गराई कला सिर्जना गराइने छ ।धेरै कलाकारले काठमाडौँको सम्पदा क्षेत्रका चित्रहरु जलरङका माध्यमबाट सिर्जना गर्ने भएकाले नेपालको पहिचान विश्वसामु पस्किन पाइने र पर्यटन प्रवद्र्धनमा पनि ठूलो सहयोग पुग्ने विश्वास गरिएको आयोजक अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले बताउनुभयो ।यसअघि समाजले महोत्सवकै रुपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसैगरी कार्यक्रम गरिसकेएको छ ।








