जानकी (बाँके), १४ मङ्सिर |
नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८० सम्पन्न भएको छ । यही मङ्सिर ९ गतेदेखि १२ गतेसम्म सेनाको बज्रदल गणले बाँके र बर्दियाका १७ विद्यालयका विद्यार्थीका लागि लक्षित गरी यहाँ प्रदर्शनी आयोजना गरेको थियो ।प्रदर्शनीमा विभिन्न सैन्य सामग्री राखिएको थियो । विद्यालयको शैक्षिक अवस्था, खेलमा उत्कृष्ट नतिजा, एसइइको नतिजा, भौतिक संरचनालगायत विद्यालयको समग्र गुणस्तरका आधारमा विद्यालय छनोट गरी प्रदर्शनीमा सहभागी गराइएको बज्रदल गणका गणपति एवं प्रमुख सेनानी रबिन श्रेष्ठले बताउनुभयो । प्रदर्शनी करिब नौ सय विद्यार्थीले अवलोकन गरेका थिए ।प्रमुख सेनानी श्रेष्ठले विद्यार्थीलाई सेनाका क्रियाकलापबारे अवगत गराउने उद्देश्यले सेनासम्बन्धी सामग्रीको प्रदर्शन गरिएको बताउनुभयो । “यस्ता कार्यक्रम हामीले विगतका वर्षदेखि गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “विद्यार्थीमा भएको सेनाप्रतिको उत्सुकता, दृष्टिकोण र सेनाको अनुशासनबारे बुझाउन प्रदर्शनी आयोजना गरिएको हो ।” प्रदर्शनीमा सेनाका ऐतिहासिक पोशाक, एनसिसिको महत्व, विपद्सम्बन्धी सामग्री, उद्धारमा प्रयोग गरिने सामग्रीलगायत राखिएको थियो ।यी विषयमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन गर्दै सेनासम्बन्धी थप जानकारी लिन उत्सुक देखिएका पनि उहाँले जानकारी दिनुभयो ।








