नेपालगञ्ज (बाँके), ११ मङ्सिर |
मुलुकका अन्य पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढे पनि नेपालगञ्जका पर्यटकीय गन्तव्य भने सुनसान जस्तै छन् । पर्यटकीय सम्भावना भएका गन्तव्यमा लगानी नहुँदा चहलपहल बढ्न नसकेको पर्यटन व्यवसायीको भनाइ छ ।पर्यटन प्रवद्र्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अहिलेको अवस्थामा पर्यटन क्षेत्रमा प्रभावकारी काम गर्न नसकिएको उल्लेख गर्दै व्यवसायी धरासायी हुने अवस्थामा पुगेकोमा गुनासो गर्नुभयो । “बाँकेमा पर्यटनको प्रचुर सम्भावना छ तर यसमा लगानी गरेर संरक्षण र सम्वद्र्धन गर्ने काम गर्न सकिएको छैन ।नेपालगञ्जका तारे होटेल क्यासिनोको भरमा मात्रै चलेको भन्दै अधिकांश होटेल पाहुनाको पर्खाइमा रहेको उहाँको भनाय छ । अध्यक्ष श्रेष्ठले व्यवसायीले पर्यटन क्षेत्रमा सङ्गठित भएर काम गर्न नसकेको उल्लेख गर्दै पर्यटन क्षेत्रमा थप लगानी गर्ने वातावरण नभएको बताउनुभयो ।श्रेष्ठले बाँके धार्मिक पर्यटनका रुपमा बढी परिचित भएको बताउनुहुँदै बाँके राष्ट्रिय निकुञ्जमार्फत पर्यटनका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । निकुञ्जलाई हात्ती सफारी, चार सिङ्गे मृग, बाघलगायतका अन्य जन्तुको समेत बासस्थान भएको क्षेत्रका रुपमा प्रचार गर्नसके यसले पर्यटकीय आकर्षण बढ्नसक्ने उहाँको भनाइ छ ।नेपालगञ्जलाई खानाका विभिन्न स्वाद पाउने महत्वपूर्ण स्थलका रुपमासमेत विकास गर्न सकिने सम्भावना छ । नेपालगञ्जमा बिरयानी, घमन्जा, हलुवा, पराठा, चाट, समोसालगायतका खानाका परिकारलाई ब्राण्डिङ गरेर पर्यटकीय आकर्षण बढाउन सकिने श्रेष्ठको भनाइ छ ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) च्याप्टर बाँकेका अध्यक्ष श्रीराम सिग्देलले पर्यटनको अध्ययन, अनुसन्धान र खोजी नभएको र त्यसका लागि बृहत् परियोजना निर्माणमा जोड दिनुभयो । उहाँले पर्यटनको दिगो विकासका लागि अल्पकालीन र दीर्घकालीन नीति आवश्यक रहेको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको पहिचान हुन नसकेको बताउनुभयो ।जिल्लाका राप्तीसोनारी, वैजनाथ र नरैनापुरलाई पर्यटनको उर्वर क्षेत्रका रुपमा मानिन्छ । अध्यक्ष सिग्देलले यस क्षेत्रमा ग्रामीण पर्यटनको सम्भावना भए पनि त्यस्तो सोचको विकास हुन नसकेको बताउनुभयो । केही घरबास र पार्कले झिनो मात्रामा ग्रामीण पर्यटनलाई बढवा दिए पनि अहिले चहलपहल नभएको बताइएको छ ।राप्ती नदीमा ¥याफ्टिङ सञ्चालन, नरैनापुरको सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनका रुपमा विकास र वैजनाथमा रहेको ‘बोटानिकल पार्क’लाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने सरोकारवालाको भनाइ छ । साथै महेन्द्र पार्क, रानी तलाउ, वाटर पार्क, कान्ति ताल, बागेश्वरी मन्दिर, गुम्बा, मस्जिद, गुरुद्वारलगायतका क्षेत्र धार्मिक पर्यटनका हिसाबले प्रख्यात छन् । यसक्षेत्रमा आठ क्यासिनो, दुई पाँचतारे र १२ चारतारे होटेल छन् ।








