चितवन, १० मङ्सिर |
खैरहनी नगरपालिकाले ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर निःशुल्क स्वाथ्य जाँच तथा परामर्श सेवा दिने गरी ‘बाआमा स्वास्थ्य कार्यक्रम’ को सुरुआत गरेको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाले आज खैरहनी नगरपालिका–१३ कुमरोजमा आयोजित एक कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।नगरप्रमुख खनियाले नगरपालिकाभित्रका ७० वर्षमाथिका हरेक नागरिकको घरदैलोमा गएर कम्तीमा चार महिनामा एकपटक रक्तचाप, मधुमेह तथा नाडीको गति र अक्सिजनको मात्रा परीक्षण गर्ने व्यवस्था मिलाइएको जानकारी राससलाई दिनुभयो । नगरवासी ज्येष्ठ नागरिकको सम्मानित र गुणस्तरीय जीवन सुनिश्चितताका लागि स्वास्थ्य परीक्षण निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक मञ्च गठन, ज्येष्ठ नागरिकका लागि सुरक्षित आश्रमस्थल निर्माण गर्नेलगायत काम गरिरहेको उहाँले बताउनुभयो ।प्रमुख प्रशासकीय अधिकृत विष्णु सापकोटाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारमा बाआमा स्वास्थ्य कार्यक्रमले योगदान गर्ने बताउँदै आगामी दिनमा यस कार्यक्रमको दायर थप विस्तार गर्दै लैजाने उल्लेख गर्नुभयो ।








