काठमाडौँ, १० मङ्सिर |

बौद्ध साहित्यको एक लाख श्लोक रहेको ‘शतसह्रसिका प्रज्ञापारमिता’ पहिलो पटक नेपाली भाषामा अनुवाद गरिएको छ । बुद्धवचन अनुवाद समितिले हिमाली भोट भाषा तथा मूल संस्कृत ग्रन्थको उक्त कृतिलाई सामान्य धर्मावलम्बीलाई समेत बुझाउन सरल नेपाली भाषामा अनुवाद गरेको हो ।चार वर्षको समयावधिमा करिब रू दुई करोड ५० लाखको लागतमा कृति अनुवाद गरिएको स्वयम्भूस्थित पहेंलो गुम्बाका बौद्ध गुरु झ्याड्चे छ्योजे गोसेक रिम्पोछेले जानकारी दिनुभयो । उहाँका अनुसार बौद्ध साहित्यमा महत्त्वपूर्ण मानिने शून्यता दर्शनमा आधारित ज्ञानलाई लिपिबद्ध गरिएको यस कृतिमा कुनै पनि वस्तुको स्वतन्त्र अस्तित्व नरहेको, वस्तु तथा पदार्थ सहअस्तित्वमा आधारित हुने, सत्ता तथा शक्ति परिवर्तनशील हुनेलगायत सन्देश दिइएको छ ।समाजमा मानिस लोभ, मोह, रिस र रागबाटमुक्त भएपछि प्राप्त हुने मानवीयताले एकापसमा सद्भाव, भाइचारा, सामाजिक न्याय, समानता कायम भई मानवकल्याण तथा विश्व शान्ति र समृद्धिको चाहना पूरा हुने उपाय उक्त कृतिमा उल्लेख गरिएको छ ।रिम्पोछेले विश्वशान्ति र मानवकल्याणका लागि बौद्ध दर्शनलगायतका आध्यात्मिक शिक्षाको महत्त्व रहेको बताउँदै अज्ञानताका कारण संसारमा युद्ध, हिंसा भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न बौद्ध दर्शन र साहित्यलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।बुद्धवचन अनुवाद समितिका अध्यक्ष एवं बौद्ध विद्धान टीका शेर्पाले आठौँ शताब्दीमा सम्भोट भाषामा लिपिबद्ध गरिएको उक्त बौद्ध साहित्यलाई अनुवादका माध्यमबाट अन्तर्राष्ट्रियरुपमा प्रवद्र्धन गर्न आफ्नो संस्था क्रियाशील रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कृतिलाई १६ वटा पुस्तकमा प्रकाशन गरिएको छ भने ६५ हजार मूल्य राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here