दैलेख, १० मङ्सिर |

दैलेखमा धान उत्पादन घटेको छ । समयमै वर्षा नहुँदा, लगाइएको धान खेतमै ढलेका कारण गत वर्षको तुलनामा धान उत्पादनमा कमी आएको छ । यस वर्ष आठ हजार तीन सय १५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा २५ हजार २८ मेटिक टन मात्र धान उत्पादन भएको हो ।गत वर्ष सोही क्षेत्रफलमा धानखेती गर्दा २५ हजार एक सय २५ मेटिक टन धान उत्पादन भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ९७ मेटिक टन धान कम उत्पादन भएको कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख हिक्मतराज गिरीले बताउनुभयो ।पछिका दुई वर्षको तुलनामा आर्थिक वर्ष २०७८/७९ मा बढी धान उत्पादन भएको थियो । आव २०७८/७९ मा आठ हजार पाँच सय १२ हेक्टर क्षेत्रफलमा धानखेती लगाउँदा २६ हजार पाँच सय १० मेटिक टन धान उत्पादन भएको थियो ।यसै गरी यस वर्ष दैलेखमा सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको छ । कृषि विकास कार्यालय दैलेखको विवरणअनुसार दैलेखमा छ सय १४ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ । उत्पादनको पूरा विवरण आइनसकेको भए पनि नयाँ बिरुवाले उत्पादन दिन थालेपछि सुन्तलाको उत्पादन बढ्ने अनुमान गरिएको निमित्त कार्यालय प्रमुख गिरीले बताउनुभयो ।आव २०७९/८० मा छ सय १२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गर्दा पाँच हजार पाँच सय ७६ मेटिक टन सुन्तला उत्पादन भएको थियो । आव २०७८/७९ मा छ सय ११ हेक्टर क्षेत्रफल जमिनमा लगाइएकामा पाँच हजार नौ सय ८५ मेटिक टन सुन्तला उत्पादन भएको थियो ।निमित्त कार्यालय प्रमुख गिरीका अनुसार यस वर्ष दैलेखमा कागती खेतीसमेत बढ्ने अनुमान गरिएको छ । गत वर्ष ७२ हेक्टर जमिनमा कागती खेती गर्दा पाँच सय ७८ मेटिक टन उत्पादन भएको थियो भने यस वर्ष ७३ हेक्टर क्षेत्रफलमा कागती खेती गरिएको छ । आव २०७८/०७९ मा ६९ हेक्टर क्षेत्रफलमा कागती खेती गर्दा पाँच सय ३१ मेटिक टन उत्पादन भएको थियो । दैलेखमा कृषिजन्य वस्तुको उत्पादन प्रत्येक वर्ष घट्दै गएको देखिन्छ । पछिल्ला वर्षमा खेती गर्ने मान्छेको कमी हुँदै जानु, बसाइँसराइ, युवापुस्ता कामको खोजीमा विदेशिनुले प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । पछिल्ला वर्षमा रैथाने बालीको उत्पादनमा समेत कमी आएको छ ।निमित्त कार्यालय प्रमुख गिरीले भन्नुभयो, “यस वर्ष दैलेखमा धान उत्पादनमा कमी आउनु मुख्य तीन वटा कारण देखिएको छ । ढिलो गरी पानी पर्नु, मलखादको कमी र प्राकृतिक प्रकोपले गर्दा उत्पादन घट्ने देखिएको छ ।” केन्द्रका अनुसार दैलेखमा अहिले १० देखि १५ प्रतिशत खेतीयोग्य जमिन बाँझो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here