काठमाडौँ, ८ मङ्सिर |

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गर्नुभएको छ । मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी अभियानलाई ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको हो ।मन्त्री आचार्यले अभियानलाई व्यापक रुपमा सञ्चालन गर्न सातै प्रदेशमा प्रदेशस्तरीय जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउने तयारी रहेको उहाँले बताउनुभयो । “अघिल्ला वर्ष राजधानी केन्द्रित ¥याली हुने गरेकोमा यसवर्ष सबै तह, निकायको समन्वय, सहकार्य गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गरी मनाउने मन्त्रालयको तयारी छ”, उहाँले भन्नुभयो ।

अन्तर्राष्ट्रिय प्रतिबद्धताले सिर्जना गरेको दायित्वलाई कार्यान्वयन गर्ने सम्बन्धमा संविधानलगायत महिला केन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्माण गर्न सरकार प्रयासरत रहेको उहाँको ठहर छ । मन्त्री आचार्यले महिलाको हक अधिकार सुरक्षित गर्दै महिलाविरुद्ध हुने जुनसुकै प्रकारको हिंसा तथा विभेदलाई शून्य सहनशीलताको नीति लिई पूर्णरुपमा अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो ।सोही सम्मेलनमा मन्त्रालयका लैङ्गिक हिंसाको अन्त्यको लागि पुरुष सञ्जालका सदस्य संयोग ठकुरीले अभियानको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभियानका कार्यक्रम लगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै महिला हिंसा उन्मूलन गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताउनुभयो ।मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने अभियानको यसवर्ष अन्तर्राष्ट्रिय नारा ‘महिला र बालबालिकाविरुद्ध हिंसा रोक्न एकजुट लगानी’ का साथै ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्तिता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । यो राष्ट्रिय नाराका साथ यसवर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here