गण्डकी (कास्की), ८ मङ्सिर |
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्नपूर्ण गाउँपालिका–४ थाप्लेस्थित हनुमतधाम निर्माणस्थलको आज स्थलगत अवलोकन गर्नुभएको छ ।प्राचीनकालदेखि सल्यान र आसपासका सर्वसाधारणले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दै आएको थाप्लेको भूमे मन्दिर नजिकै निर्माण गर्न लागिएको हनुमतधामको स्थलगत निरीक्षणसँगै मुख्यमन्त्रीले सम्बद्ध स्थानीयवासी, निर्माण समितिसँग छलफल गर्नुभएको थियो ।धाम निर्माणका लागि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट विस्तृत आयोजना प्रतिवेदन तयार गरिसकिएको छ । उक्त प्रतिवेदनअनुसार ७० मिटर लम्बाइ र ५० मिटर चौडाइ क्षेत्रफलमा हनुमानको मूर्ति राखिने जनाइएको छ ।डोमबाट ६४ फिट उचाइमा हनुमानको मूर्ति रहने छ । मूर्तिसहित राम–सीताको मन्दिरलगायत संरचना रु २३ करोड ७३ लाख ५३ हजारको लागतमा निर्माण गरिने डिपिआरमा उल्लेख छ ।सो अवसरमा मुख्यमन्त्री पाण्डेले धार्मिक पर्यटकीयस्थलका रूपमा यस स्थलको विकास गर्न सकिने बताउनुभयो । निर्माण समितिले जग्गा प्राप्तिलगायत कामलाई अघि बढाउनुपर्ने बताउँदै उहाँले प्रदेश सरकारका तर्फबाट साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले महावली हनुमानले लक्ष्मणलाई बचाउनका लागि कालाञ्जर पर्वतबाट सञ्जीवनी बुटी ल्याउने क्रममा यस स्थानमा टेकेको विश्वास रहेको बताउनुभयो । हनुमतधाम निर्माण गरी यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने उहाँले बताउनुभयो । हनुमतधाम निर्माण गरेसँगै यो गण्डकी प्रदेशको मात्र नभई समग्र नेपालको नै विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बन्ने शर्माको भनाइ छ ।धामसँगै यस स्थानमा हनुमत औषधालय, गुरुकूल आदि निर्माण गर्ने लक्ष्य राखिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णुबहादुर केसीले यस क्षेत्रको समृद्धि र विकासका लागि हनुमतधाम महत्त्वपूर्ण बन्ने बताउँदै निर्माणका लागि पालिकाका तर्फबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।निर्माण समितिका अध्यक्ष मोहदत्त पोखरेलले समिति निर्माण कार्यका लागि लागिरहेको बताउनुभयो । समितिले धाम निर्माणका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत भेटेर यसबारे जानकारी गराएको समितिका सदस्य राजबहादुर गुरुङले जानकारी दिनुभयो । हनुमतधाम निर्माण सम्बन्धमा प्रधानमन्त्री सकारात्मक रहनुभएको र सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको गुरुङले बताउनुभयो ।








