दमक, ८ मङ्सिर |

झापा, गौरादह नगरपालिका–१ का धार्मिक तथा सामाजिक व्यक्तित्व कर्णबहादुर कटुवालले आफ्ना दिवङ्गत मातापिताको स्मृतिमा रु ३२ लाखको लागतमा मन्दिरसहित मलामी विश्रामस्थल घर बनाइदिएका छन् ।कटुवालले गौरादह–१ र कमल–१ को सिमानामा पर्ने माथ्लो किस्नी घाटमा रु २१ लाखको लागतमा गोपेश्वर महादेवको मन्दिर र दुई सय बढी मानिस अट्नसक्ने क्षमता भएको मलामी विश्रामस्थलको संरचना बनाएर स्थानीय सरकारलाई हस्तान्तरण गर्नुभएको हो । मन्दिरसहितको नवनिर्मित विश्रामस्थलको कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज उद्घाटन गर्नुभयो ।सो क्षेत्रका प्रदेशसभा सदस्यसमेत रहनु भएका निर्वतमान मुख्यमन्त्री कार्कीले कटुवाल परिवारको सामाजिक देन प्रशंसनीय भएको उल्लेख गर्नुभयो । त्यस अवसरमा दाता परिवारले ती संरचनाको स्वामित्व माथिल्लो किस्नीघाट संरक्षणको जिम्मेवारी प्राप्त गौरादह–१ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारीलाई हस्तान्तरण गरेका थिए । त्यस्तै कार्यक्रममा दानवीर कर्णबहादुर कटुवाललाई सम्मानसमेत गरिएको थियो ।प्रदेशसभा सदस्य अमर विष्ट, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, उपप्रमुख जलवर्षा राजवंशी, निवर्तमान गौरादह नगरप्रमुख रोहित साहलगायत सो क्षेत्रका राजनीतिक, सामाजिक व्यक्तित्वको उल्लेख्य उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here