तुलसीपुर (दाङ), ७ मङ्सिर |

लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको दङ्गीशरण गाउँपालिका–७ स्थित सिमठाना र सिमठानी गाउँमा खानेपानीको काम अघि बढेको छ । खानेपानीको समस्या भोग्दै आएका यहाँका करिब तीन सय घरधुरीका लागि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत खानेपानी विस्तारको काम अघि बढेको हो ।यसअघि कुवाको पानीको भरमा यहाँका बासिन्दाको दैनिकी चलिरहेकामा कुवा पनि सुकेपछि थप समस्या भएको थियो । कुवा सुकेपछि जरुवाको अशुद्ध पानीको भरमा दैनिकी चलाएका यहाँका स्थानीय शुद्ध पानी पाउने भएपछि खुसी भएका छन् ।कार्यालयका इञ्जिनियर वसन्तकुमार दुलालका अनुसार खानेपानीका लागि बोरिङ तयार भइसकेको छ । “एकसय २२ मिटर गहिरो खनेर बोरिङ तयार पारेका छौँ ।ओभरहेड ट्याङ्की निर्माण भएमा यहाँका प्रतयेक घरमा खानेपानी पुर्‍याउन सकिने दुलाले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले रू ५० लाख बजेट विनियोजन गरेको छ । उक्त बजेटले अहिले काम भइरहेको उहाँको भनाइ थियो ।थप बजेट आवश्यक परेमा व्यवस्थापन गरेर घरघरमा खानेपानी पुर्‍याइने प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारा नै भएकाले आफूहरुले खानेपानी नपुगेको ठाउँमा खानेपानी पुर्‍याउने गरी काम अघि बढाइरहेको उहाँको भनाइ थियो । “खानेपानी पुर्‍याउने सरकारको दायित्व हो ।विद्युत् र पम्प हाउस जडान गरेमा छिट्टै यहाँका बासिन्दाले खानेपानी पाउने गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले बताउनुभयो । पहिलो चरणमा घरघरमा खानेपानी पुर्‍याउने उद्देश्यले खानेपानीका लागि आवश्यक संरचना निर्माण अघि बढाइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here