भक्तपुर, ७ मङ्सिर |

हरिबोधनी एकादशीका दिन आज भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित प्रसिद्ध चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । चारनारायणमध्येका जेठो नारायणका रुपमा पुजिँदै आएको चाँगुनारायण मन्दिरमा आज बिहान ४ बजेदेखि दर्शनार्थीको घुइँचो लागेको मन्दिरका मूल पूजारी चक्रधरानन्द राजोपाध्यायले जानकारी दिनुभयो ।आजका दिनमा चार नारायणको दर्शन गरेमा पुण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, ईचंकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने गर्दछन् ।मेला व्यवस्थापन समितिका पदाधिकारीका अनुसार चार नारायणको दर्शन गर्दा जेठो नारायणको रुपमा मानिएको चाँगुनारायणको पहिला दर्शन गर्नसके उत्तम हुने मान्यता रहेकाले बिहान ४ बजेदेखि नै दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ ।
सहज रुपमा दर्शन र पूजा गर्ने व्यवस्थाका लागि मन्दिरमा स्वयंसेवक एवं स्काउट र प्रहरी परिचालन गरिएको चाँगुनारायणका गोकर्ण पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानैदेखि मन्दिर परिसरमा भक्तजनको घुइँचो लागेको छ ।असाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवाण विष्णु आजै जागा हुनुहुने भएकाले यस दिनलाई हरिबोधनी एकादशीको रुपमा विशेष पूजाअर्चना गरेर मनाइने पूजारी राजोपाध्यायको भनाइ छ । “हरिशयनी एकादशीका दिन घरघरमा रोपिएको तुलसीको मठलाई आज परम्परा अनुसार सिगारेर पूजा गरी माला लगाएर विष्णुसँग विवाह गराइएको दिने गरिन्छ ।”त्यसैगरी चाँगुनारायण नगरपालिकाल–५ छालिङ गोकुल गाउँस्थित प्रसिद्ध मच्छेनारायण मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । नारायणका पूजा एवं दर्शन गर्न व्रतालुको भीड लागेको गोकर्ण पुरीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here