चितवन, ५ मङ्सिर |

चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका हुन् ।यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीकाराम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल बाहिरबाट आएका १२ देखि १५ हाँस प्रजातिका चरा यहाँको नारायणी, राप्ती नदी र रिउखोलामा देखिन थालेका छन् । ‘अगष्ट’ महिनादेखि हिउँदे आगन्तुक चरा आउन थालेको जनाउँदै उहाँले अहिले यस्ता चरा कतिपय आइसकेको र कतिपय आउन बाँकी रहेको बताउनुभयो । यस्ता चरा ‘अक्टोबर’सम्म आउने उहाँले जानकारी दिनुभयो । नेपालकै पहाडी भागबाट समेत चिसो छल्न चितवनमा चरा आउने गरेका छन् ।चराविद् हेमसागर बरालका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा हाँस प्रजातिका चखेवा, सुइरोपुच्र्छे, मालक, खडखडे, बिजुला, गैरीजस्ता चरा आउँछन् भने सुडसुडिया प्रजाति वनमा आश्रित प्रजातिका चरा पनि आउने गरेका छन् । नेपालमा एक सय ५० प्रजातिका चरा आगन्तुकरूपमा आउने गरेको जनाउँदै उहाँले अहिलेसम्म एक सय प्रजातिका चरा आइसकेको बताउनुभयो । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा फेरि दक्षिणबाट उत्तर फर्कने उहाँले जानकारी दिनुभयो । पृथ्वीको उत्तरी ध्रुवमा दिन छोटो र रात लामो हुने हुँदा चर्नका लागि समयसमेत नहुने हुँदा ती चरा आउने गरेको उहाँले बताउनुभयो ।नेपालमा विशेषगरी सिमसार, घाँसेमैदान, वन र खेतबारीमा बस्ने चरा आउने गरेका छन् । नेपालमा हाल आठ सय ९२ प्रजातिका चरा पाइन्छन् भने चितवनमा छ सय ५० प्रजातिका चरा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रिउ नदी र यस वरपरका सिमसार क्षेत्रमा जलपक्षीको राम्रो बासस्थान हुने गरेको छ । निकुञ्ज, मध्यवर्ती र सामुदायिक वन पनि पक्षीको राम्रो विचरण क्षेत्र हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here