हिन्दु धर्मावलम्बी नेपालीहरूको सबैभन्दा ठूलो र महत्वपूर्ण पर्व हो, दशैं । १० दिनसम्म मनाइने दशैंका आफ्नै धार्मिक एवं सांस्कृतिक मान्यताहरू छन् । यो पर्वको प्रचलनका पनि आफ्नै धार्मिक एवं पौराणिक कथाहरू छन् । ती कथामा अभिव्यक्त मान्यताहरू पनि क्षेत्र, भूगोल र समुदाय अनुरूप फरक फरक हुन सक्छन् । दशैंका लागि सरकारले समेत आफ्ना कर्मचारीलाई थप एक महिनाको तलबी खर्च सहित लामो बिदा दिने हुनाले यसको धार्मिक, सांस्कृतिक र सामाजिक मात्र होइन, अर्थशास्त्रीय महत्व पनि उत्तिकै छ ।विगतका वर्षहरूमा दशैंको आगमनसँगै सहरबजारमा किनमेल गर्नेहरूको भीडभाड निकै बढ्ने गर्दथ्यो । तर, यसपटक मुलुकका मुख्य सहरबजारमा उपभोक्ताको उतिसारो भिडभाड नभएको खबर सुनियो । चाडपर्वमा भिडभाड कम हुँदै जानुका मुख्य तीन कारण छन् । पहिलो, विद्यमान आर्थिक संकट । दशैं तिहार जस्ता ठूला पर्वका पूर्वसन्ध्यामा सहरबजारका पसल, सपिङ मल अनि मोटरगाडीका शोरुमहरूमा लाग्ने भीडभाड पनि कमै देखियो ।विगत लामो समयदेखि देशको अर्थतन्त्र उकासिन सकेको छैन । न्यून उत्पादन, बढ्दो बेरोजगारी र चरम् महंगीका कारण उपभोक्ताको क्रयशक्ति क्षयिकृत हुँदै गएको छ । आर्थिक दुरावस्थाले सर्वसाधारणको खल्ती रित्तिएको मात्र छैन, उनीहरूको आर्थिक जीवन नै उथलपुथल भएको छ । जसका कारण चाडपर्वमा गरिने खर्चमा पनि उल्लेख्य कटौति भएको अनुभूति गर्न सकिन्छ ।दोस्रो, बढ्दो युवा पलायन । पछिल्लो समय श्रमका लागि मात्र होइन, अध्ययनकै लागि पनि विदेशिने विद्यार्थीहरूको संख्या दिनानुदिन बढ्दो छ । सहरबजारका गल्लीगल्लीमा फस्टाएको कन्सल्टेन्सीहरूको व्यापारले पनि त्यसैको संकेत गरेको छ । सन् २०२२ मा मात्रै कम्तीमा १ लाख २५ हजार विद्यार्थी अध्ययनका लागि विदेशिएको सरकारी आंकडा छ । ती विद्यार्थीहरूले औपचारिक रूपमा बाहिर लैजाने धनराशीको हिसाब नै रु. एक खर्ब बढी हुन आउँछ ।पछिल्लो समय १८-२२ वर्षकै कलिलो उमेरमा विदेशिने युवाहरूको संख्या अनपेक्षित रूपमा बढ्दै गएको देखिन्छ । ती युवा शक्ति जो मुलुकको अर्थबजारका प्रमुख उपभोक्ता हुन्, उनीहरू विदेशिएका कारण पनि बजारमा सुस्तता आएको अनुमान गर्न सकिन्छ । साथै उनीहरूले विदेश लैजाने ठूलो धनराशीका कारण सम्बन्धित घरपरिवार र नजिकका नातागोतासम्मको क्रयशक्ति घट्दोक्रममा हुँदा बजार गतिशील हुन सकेको छैन ।तेस्रो, भौगोलिक रूपमा विस्तारिँदै गएको बजार र प्रविधियुक्त भर्चुअल कारोबार । अर्थात्, पहिले पहिले किनमेलका लागि उपभोक्ताहरू खासखास सहरबजारमा धाउने गर्दथे । तर, अहिले चल्तीको पूर्व पश्चिम राजमार्ग, हुलाकी राजमार्ग वा अन्य मुख्य राजमार्गका कैयौं स्थानहरूमा नयाँ बजार बनिसकेका छन् ।ती राजमार्ग छेउछाउ विस्तार भएका बजारले नजिकैको ठूलो सहरमा केन्दि्रत हुने उपभोक्तालाई रोकिदिन्छन् । परिणामस्वरूप बुटवल, पोखरा, भैहरवा, नारायणगढ, हेटौंडा, लाहान, इटहरी जस्ता सहरहरूको आर्थिक कारोबार घट्न गएको अनुमान गर्न सकिन्छ । यसका अलवा सूचना प्रविधि र इन्टरनेटको प्रयोगसँगै बढ्दै गएको अनलाइन माध्यमबाट हुने भर्चुअल कारोबारले पनि सहरबजारमा उपभोक्ताहरूको भौतिक उपस्थिति घट्न गएको हुनसक्छ ।चाडपर्वमा रमाउनु आम नेपालीहरूको संस्कार नै बनिसकेको छ । त्यसमाथि पनि दशैंको विशेष पारिवारिक, सामाजिक एवं सांस्कृतिक महत्व छ । दशैंमा लामो सार्वजनिक विदा हुने र विद्यालय, विश्वविद्यालयहरूमा पनि लामो समय विदा हुने भएकाले अध्ययन र कामका सिलसिलामा गाउँघर छाडेर सहरबजार बस्ने लाखौं मानिसहरूका लागि दशैंको समय सामाजिक र पारिवारिक मिलनको समय हुने गरेको छ ।दशैंमा हुने सामाजिक एवं पारिवारिक भेटघाट र सम्पर्कको पाटोलाई हेर्दा यसलाई सामाजिक सद्भाव विस्तारको उपयुक्त अवसर मान्न सकिन्छ । त्यसैले दशैं वास्तवमै पारिवारिक मिलन र नाताकुटुम्बसँगको सामिप्यता बढाउने पर्व हो । यसले सामाजिक सद्भाव र भाइचारालाई प्रगाढ बनाउँछ । वर्षौंदेखि टाढिएका आफन्तजनसँगको भेट नै दशैंको मुख्य आकर्षण बन्ने गरेको छ ।बिदामा घुमफिर गर्न रुचाउने कतिपय मानिसहरूका लागि घुम्ने अवसर पनि दशैंले उपलब्ध गराइदिएको छ । गाउँ छाडेर सहर पसेकाहरूलाई दशैं गाउँघरको नाता सम्बन्ध नवीकरण गर्ने अवसर बन्ने गरेको छ । दशैंको धार्मिक, सांस्कृतिक एवं सामाजिक महत्व एकातिर छ भने चाडपर्वले निर्माण गर्ने उपभोग संस्कृति पछिल्लो समय यथार्थता हो ।

यो संस्कृति निकै जब्बर रूपमा स्थापित हुँदै गएको छ । दशैं, तिहार, छठ, क्रिसमस, तीज, ल्होसारजस्ता चाडपर्वहरूमा बढेको उपभोगको संस्कारले भने समाजमा एक खालको देखावटीपनको विकास गरिदिएको छ । यसले समाज, टोल छरछिमेकमा आफ्नो हैसियत कायम राख्नकै लागि रिनधन नै गरेर भएपनि चाडपर्व मनाउनुपर्ने बाध्यता स्थापित गरिदिएको छ ।यस्ता पर्वहरूमा आम जनसाधारणको फजुल खर्च पनि बढ्ने हुँदा त्यसले व्यक्तिको आम्दानी र खर्चको सन्तुलनलाई त असर पर्छ नै दशैंतिहार तथा चाडपर्वहरूमा गरिने फजुल र अनावश्यक खर्चले मुलुकको अर्थतन्त्र पनि अनुत्पादक बन्दै गइरहेको छ । यसले समाजलाई पनि भड्किलो र देखावटी बनाइरहेको छ ।पूँजीवादी अर्थतन्त्रमा उपभोग नै मुख्य विषय हो । चाडपर्वले उपभोगलाई जोड दिन्छ । उपभोग नै उत्पादनको आधार भएकाले जे जसरी हुन्छ आम मानिसको उपभोगलाई बढाउने नै ध्येय हुन्छ । त्यसैले पूँजीवादी अर्थव्यवस्थाका हिमायतीहरू हरहालमा आम उपभोक्तालाई वस्तु तथा सेवाको उपभोग गराउन मै उद्दत रहन्छन् ।त्यसो त उपभोग बढ्दा अर्थतन्त्रमा पुँजी निर्माणको प्रक्रिया पनि बढ्ने र अन्ततः त्यसले अर्थतन्त्रको आयतन बढाउने सैद्धान्तिक व्याख्या पनि छ । तर, हाम्रो जस्तो मूलतः आयातकेन्द्रित व्यापारमै निर्भर अर्थतन्त्रमा भने अनावश्यक रूपले उपभोग बढ्दै जाँदा त्यसले अर्थतन्त्रको आयतन बढाउने भन्दा त्यसलाई खुम्च्याउने गरेको दृष्टान्त छ ।आयातमै उन्मुख दशैं अर्थतन्त्रले भने मुलुकको व्यापार घाटा मात्रै बढाएको छ । जुन मुलुकमा दैनन्दिनीका अत्यावश्यक उपभोग्य वस्तुहरूसमेत सम्पूर्ण रूपले आयातमा निर्भर रहनुपर्छ, त्यो देशको लागि उपभोगवादी संस्कृति कदापि फलदायी हुँदैन । यस्तो व्यापारले अर्थतन्त्रलाई चलायमान त बनाउँछ, तर प्रकारान्तरमा त्यसले ठूलो पैमानामा व्यापार घाटा हुन गई मुलुककै अर्थतन्त्र धाराशायी हुन पुग्छ ।पछिल्लो समय देखिएको चरम आर्थिक संकट र सरकारी कोषमा घट्दो असन्तुलनको मुख्य कारण नै सरकारी खर्च बढ्दै जानु तर, आम्दानीमा भने संकुचन आउनु हो । मुलुकको समग्र नगद प्रवाहको विवरण हेर्ने हो भने केवल आयातले मात्र होइन, सेवा क्षेत्रबाटसमेत धनराशी बाहिरिएको छ । माथि उद्धृत गरिएजस्तो अध्ययनका नाउँमा पलायन हुँदै गएका युवा विद्यार्थीले ठूलो धनराशी देशबाहिर लगेका छन् ।नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मुलुकको समग्र सेवा खाताअन्तर्गत भ्रमण व्यय रु. १४४ अर्ब ४६ करोड भएको छ । जसमध्ये शिक्षातर्फको व्यय मात्रै रु. १०० अर्ब ४२ करोड रहेको छ । जुन व्यय आर्थिक वर्ष २०७८/७९ मा रु. ९७ अर्ब ३२ करोड रहेको थियो, जसमध्ये शिक्षातर्फको व्यय रु. ६७ अर्ब ७० करोड रहेको थियो ।चालू आर्थिक वर्षको पहिलो एक महिनामा मात्रै रु. १७ अर्ब २६ करोड रकम भ्रमण व्ययको रूपमा बाहिरिएको छ, जसमध्ये शिक्षाका लागि विदेशिएको रकम मात्रै रु. १० अर्ब ७५ करोड रहेको छ । जबकि यस अवधिमा विदेशी पर्यटकहरूबाट भित्रिएको भ्रमण आय रु. ४ अर्ब ३९ करोड रहेको छ ।कतिपयलाई लाग्न सक्छ, भ्रमण व्ययको तथ्यांकले मात्र हुँदैन, त्यसै अनुसार बढ्दै गएको विप्रेषण आयलाई पनि हेर्नुपर्ने हुन्छ । कुरा ठिकै हो, तर तथ्यांकले भन्छ कि विदेशमा पढ्न जाने विद्यार्थीबाट मुलुकको विप्रेषण आयमा उतिसारो योगदान गरेको देखिंदैन । रेमिटान्स आयको मुख्य हिस्सा नै वैदेशिक रोजगारीका लागि विदेशिएका युवाहरूले पठाएको रकम हो । जुन मूलतः खाडी मुलुकसँगै मलेसिया, कोरियालगायत देशहरू हुन् ।त्यस्तै दशैंकै सामाजिक एवं सांस्कृतिक पक्षलाई हेर्दा दशैंमा आफ्नो घरपरिवार, नाताकुटुम्बका मान्यजन समक्ष टीका र आशिष थाप्ने प्रचलन रहेको छ । आफ्ना मान्यजनबाट टीका, जमारा र आशिर्वाद ग्रहण गर्नुका साथै मान्यजनबाट प्राप्त हुने दक्षिणा पनि दशैंको अर्को महत्वपूर्ण विशेषता हो । विशेषतः केटाकेटी एवं किशोर उमेरमा त्यस्तो दक्षिणाको निकै महत्व हुने गर्दछ । दशैंमा मात्र अर्बौंको दक्षिणा हस्तान्तरण हुने देखिन्छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० असोज मसान्तसम्म बजारमा रु. ६ खर्ब ५८ अर्ब बराबरको मुद्रा परिचालन गरिएको छ । गत असोज १ गते उक्त परिचालित मुद्रा रु. ६ खर्ब ३ अर्ब रहेको थियो । अर्थात् असोज महिनाभरमा मात्र रु. ५५ अर्ब बराबरको थप मुद्रा बजारमा परिचालन गरिएको छ । जसको झण्डै आधा हिस्सा दशैं लक्षित हो ।नेपालको राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालमा कूल ६६ लाख ६६ हजार ९२७ परिवार संख्या रहेको छ । त्यस्तै नेपालमा ८१.१९ प्रतिशत हिन्दु धर्मावलम्बी बसोबास गर्दछन् । यसरी हेर्दा करिब ५४ लाख १२ हजार हिन्दु धर्मावलम्बी परिवारले दशैं मनाउँछन् भन्न सकिन्छ ।अनि प्रत्येक परिवारले औसतमा कम्तीमा रु. तीन हजार दशैंमा दक्षिणाको रूपमा प्रयोग गर्यो भने कूल रु. १६ अर्ब २३ करोड रकम दक्षिणाको रूपमा कारोबार हुने देखिन्छ । अर्थात् दशैंमा सालाखाला रु. १५ देखि २० अर्बसम्मको दक्षिणा कारोबार हुने अनुमान गर्न सकिन्छ ।यसर्थ, दशैंमा प्राप्त हुने दक्षिणा रकमलाई कहाँ र कसरी उपयोग गर्ने भन्ने विषय पनि उत्तिकै महत्वको विषय बन्न पुगेको छ । व्यक्तिगत तहबाट हेर्दा एक व्यक्तिले दशैंमा आफ्ना मान्यजनबाट प्राप्त गर्ने दक्षिणा रकम निकै सानो इकाई हुनसक्छ । तर, त्यसलाई समग्रमा हेर्ने हो भने त्यो करिब रु. २० अर्बकै हाराहारी हुने देखिन्छ । यसर्थ, दक्षिणको प्रयोगमा पनि वित्तीय साक्षरता अवलम्बन गर्नुपर्ने अवस्था देखिएको छ ।हाम्रा अनुभवले बताउँछ कि अक्सर चाडपर्वमा उपभोगको मात्रा बढ्छ । मान्छेका अनेकन चाहना र आवश्यकताहरू हुन्छन् । चाडपर्वमा आवश्यकता भन्दा पनि चाहना पूरा गर्ने धोको धेरैको हुन्छ । अनि सबै त्यही चाहनाका पछि दौडिरहेका हुन्छन् ।तर, अर्थशास्त्रीय परिभाषा र दृष्टिकोण अनुसार हरेक चाहना आवश्यकता हुँदैनन् । हामीसँग भएको सीमित स्रोतको उपयोग चाहना हैन, आवश्यकता पूरा गर्नका लागि प्रयोग गर्नुपर्छ भन्ने अर्थशास्त्रीय मान्यता रहेको हुन्छ । दशैं, तिहार वा अन्य कुनै चाडपर्वमा प्राप्त गरिने दक्षिणाको उपयोगिताको सवालमा पनि त्यही दृष्टिकोण हावी हुन्छ ।साना केटाकेटीदेखि वयस्कसम्मले चाडपर्वमा प्राप्त गरिने रकमलाई त्यस्तै फजुल खर्चमै उपयोग गर्दछन् । अझ दशैं र तिहार जस्ता ठूला पर्वमा त मदिराजन्य पदार्थको अत्यधिक प्रयोग हुनुका साथै जुवा ताससमेतमा मानिसहरू झुम्मिने गरेको देखिन्छ । त्यस्तै विलासिताका वस्तुहरूको उपयोग पनि अत्यधिक हुने गरेको देखिन्छ, जुन व्यक्तिको आवश्यकता हैन चाहना मात्रै हो ।र, हामीले उपभोग गर्ने अधिकांश वस्तुहरू आयातित हुने हुँदा त्यसले अर्थतन्त्रमा भ्यालु एड गर्दैन । यदि हामीले उपभोग गर्ने वस्तुहरू स्वदेशमै बनेका हुन्थे भने त्यस्तो उपभोगले माग-उत्पादन-आम्दानी-उपभोगको चक्रलाई गति प्रदान गरी अर्थतन्त्रको विस्तारमा योगदान गर्दथ्यो । तर, आयातकेन्दि्रत उपभोगले त्यो अर्थचक्र भत्काउँछ र अर्थतन्त्रको दिगो विस्तारमा योगदान गर्दैन ।

त्यसैले दक्षिणाबाट प्राप्त हुने धनराशीको प्रयोगमा हामीले विशेष ध्यान पुर्याउनु जरुरी देखिन्छ । झन् बालबालिकाहरूलाई त यस्तो धनको प्रयोगबारे अहिलेदेखि नै वित्तीय साक्षरता प्रदान गर्नु आवश्यक छ । उनीहरूलाई बचत र बिमाको महत्वबोध गराई संकलित दक्षिणा बचत गराउनु जरुरी हुन्छ ।बालबालिकाको दक्षिणा रकमलाई वित्तीय संस्थाहरूमा क्रमिक बचतको रूपमा राख्न सकिन्छ । त्यसैगरी दक्षिणाको रकमलाई उनीहरूकै समुज्ज्वल भविष्यका लागि शिक्षा, स्वास्थ्य र जीवन बिमाका लागि पनि उपयोग गर्न सकिन्छ । बिमा एउटा यस्तो माध्यम हो जहाँ जोखिम बहन हुनुका साथै अनिवार्य बचतसमेत हुने गर्दछ । अहिले त लघुबिमा कम्पनीले समेत सेवा प्रवाह थालिसकेको हुँदा वाषिर्क केही सय रकमले मात्रै पनि बिमा गर्ने अवसर उपलब्ध भएको छ । यसर्थ, आफ्नो आर्थिक क्षमता र गच्छे अनुसार जतिसुकै बीमांक बराबरको बिमा गर्न सकिन्छ ।चाडपर्वलाई लक्षित बिमाले अतिरिक्त आर्थिक बोझ पनि निम्त्याउँदैन । किनकि हरेकवर्ष बिमा प्रिमियम भुक्तानीका लागि यस्तै चाडपर्वमा प्राप्त हुने दानदक्षिणालाई उपयोग गर्न सकिन्छ । सबैभन्दा महत्वपूर्ण पक्ष चैं यस किसिमको व्यवहारबाट बालबालिकाहरूलाई देखि वित्तीय साक्षरता प्रदान गर्न सकिन्छ । त्यस्तै उनीहरूमा बचत गर्ने बानीको विकास हुन्छ र यस्तो बानीले उनीहरूलाई भविष्यमा मितव्ययी बन्न सिकाउँछ ।यस्तो व्यवहारबाट अन्ततः ‘प्रयोगबिहीन’ मुद्रा बैंकिंग प्रणालीमा प्रविष्ट हुने हुँदा त्यसले बृहत पूँजी निर्माणको प्रक्रियालाई समेत सहज बनाइदिन्छ । जसले अर्थतन्त्रलाई नै गतिशील बनाउँछ । त्यसैले अब चाडपर्वहरू मनाउँदै गर्दा हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने हामीले यसलाई अनावश्यक रूपमा भड्किलो र आर्थिक बोझयुक्त बनाउनु हुँदैन । हाम्रा व्यवहार र आनीबानीले समाजलाई भड्काउने र समाजलाई थप वर्गीय विभाजन त गरिरहेको छैन ? भन्ने कुरामा विचार पुर्‍याउनुपर्छ । यसर्थ, हामीले सामाजिक एवं सांस्कृतिक मूल्यको अलावा वित्तीय एवं अर्थशास्त्रीय दृष्टिकोण समेतलाई मनन् गरी चाडपर्व मनाउनु जरुरी देखिन्छ । हामीले पर्वहरूलाई आफ्नो क्षमता र गच्छे अनुसार मात्रै मनाउने गर्नुपर्दछ । संकटको अवस्थामा ‘खर्च नगर्नु पनि आम्दानी हो’ भन्ने कुरालाई मनन गरियो भने मात्रै समृद्धि र उन्नतिको मार्ग पहिल्याउने संभव हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here