पर्वत, ४ कात्तिक |

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो । हालै गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको मूल्याङ्कनमा प्रदेशभरिमै उत्कृष्ट बनेको अस्पताललाई बधाई दिँदै उहाँले यसको थप स्तरोन्नति र गुणस्तरीय सेवा सुविधा प्रदान गर्नका लागि आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो ।मन्त्री बस्नेतले आधारभूत स्वास्थ्य सुविधा पाउने नागरिकको नैसर्गिक अधिकार रहेको जनाउँदै जिल्लाबाट प्रदान गर्न सकिने सबै सेवा, सुविधा उपलब्ध गराउनसमेत निर्देशन दिनुभएको छ । उहाँले अस्पतालका लागि आवश्यक दरबन्दी, एम्बुलेन्स र अन्य उपकरण उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले पर्वत अस्पतालको वर्तमान अवस्था, दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको कमी, ५० शय्याको मान्यता प्रदान गर्नुपर्नेलगायतका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले सुविधासम्पन्न ‘क’ वर्गको एक, अन्य दुईवटा एम्बुलेन्स, युएसजी मेसिन र हाडजोर्नीसम्बन्धी उपकरण उपलब्ध गराइदिन मागपत्रसमेत पेस गर्नुभएको छ ।विसं २०४६ मा १५ शय्या क्षमतामा स्थापना भएको जिल्लाको सो अस्पताल अहिले ५० शय्याको रूपमा स्तरवृद्धि भइरहेको छ । अस्पताल विकास समितिले ४१ शय्या थपेर अहिले ५६ शय्या सञ्चालनमा आएका छन् । अस्पतालमा ओपिडी सेवासँगै विभिन्न खालका शल्यक्रिया, डायलायसिस, दन्त, हाडजोर्नी, आँखा उपचारलगायतका सेवा प्रवाह हुँदै आएका छन् ।पर्वत, बाग्लुङ र स्याङ्जाका गरी दैनिक तीन सय जनासम्म बिरामी उपचारका लागि आउने गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here