टीकापुर, ३ कात्तिक |
कैलालीको टीकापुर नगरपालिकाले क्षयरोग सङ्क्रमितलाई पोषणका लागि खाद्यान्न वितरण गरेको छ । पालिकाले बिहीबार १२ जनालाई खाद्यान्न वितरण गरेको हो । खाद्यान्नमा चामल, दाल, बदाम, चिनी, अण्डालगायतका सामग्री वितरण गरिएको हो । पालिकाले यस वर्ष एक सय दुई जना क्षयरोग सङ्क्रमितलाई वितरण गर्ने जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । पालिकाले क्षयरोग मुक्त पालिका बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । पालिकामा गत वर्ष एक सय ७६ जना नयाँ क्षयरोगका बिरामी फेला परेका थिए । चालु आर्थिक वर्ष २०७८र०८९ मा एक सय ६८ जना बिरामी फेला परेका थिए । पालिकाले क्षयरोग मुक्त पालिका अभियान सञ्चालन गरेपछि बिरामीको निदान बढ्दै गएको उहाँको भनाइ छ ।पालिकाले क्षयरोगीमा पनि विपन्न बिरामीलाई खाद्यान्न वितरण गर्ने गरेको छ । गत वर्ष पनि एक सय दुई जनालाई खाद्यान्न वितरण गरिएको थियो, यस वर्ष पनि वितरण गर्ने तयारी रहेको संयोजक रावलको भनाइ छ ।
पालिकाले आगामी पाँच वर्षमा क्षयरोग मुक्त पालिका बनाउने अभियानअन्तर्गत क्षयरोगीलाई सीपमूलक तालिम, विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको छ । “गत वर्षबाट क्षयरोग मुक्त पालिका घोषणाका लागि अभियान सञ्चालन भइरहेका छन् ।यसका साथै सङ्क्रमित बिरामी र परिवारका सदस्यलाई सङ्क्रमण रोकथामसम्बन्धी अभिमुखीकरणसमेत भएको छ । क्षयरोग एक जनालाई भएमा परिवार तथा छिमेकमा रहेका अन्यलाई समेत सर्नसक्ने भएकाले पालिकाले परिवारका सदस्यलाई सङ्क्रमण रोकथामबारे जानकारी दिन थालेका छ । वडा नं ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले अझै क्षयरोग निदानका लागि सबै जिम्मेवार व्यक्ति लाग्नुपर्ने बताउनुभयो । नगर प्रमुख रामलाल डगौरा थारुले क्षयरोगले मानिसको ज्यान जानसक्ने भएकाले परीक्षण र सेवा लिन लापर्वाही नगर्न आग्रह गर्नुभयो । “रोग लुकाएर नबसौँ, उपचार निःशुल्क हुन्छ, अति विपन्नलाई पालिकाले गर्ने अन्य सहयोगका कार्यक्रम पनि छन्”, उहाँले भन्नुभयो, “थप परीक्षणका लागि बाहिर जानुपरे पनि पालिकाले सघाउँछ । टीकापुर अस्पतालमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा सेवाबाट पनि धेरै सेवा पाइन्छन् ।” दसैँको मुखमा पोषणका लागि खाद्यान्न पाएपछि सङ्क्रमित परिवार खुसी भएका छन् ।








