काठमाडौँ, २८ असोज |
सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । व्यावसायिक र राजनीतिक जीवनलाई लामो समयदेखि एकैसाथ अगाडि बढाउनुभएका उहाँका लागि सांसदको भूमिका भने यो पहिलो हो । राजनीतिमा शुद्धीकरण गर्दै मुलुकमा सुशासन कायम गर्ने लक्ष्यका साथ पछिल्लो पटक उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीकोतर्फबाट समानुपातिक सांसद बन्नुभएका झा हालको सदनका कतिपय अभ्याससँग विमति राख्नुहुन्छ ।उहाँ सदनलाई प्रभावकारी बनाउन भाषण होइन विचार, नीति मन्थन गर्ने ठाउँका रुपमा विकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुन्छ । सांसदसँग राससका लागि संवाद गर्नेका क्रममा सांसद झा सदनमार्फत सार्वजनिक महत्वका विषयमा जनतालाई सुनाउनका लागि मात्रै बोल्नेभन्दा पनि नीतिगत तहमा कसरी प्रभाव पार्ने भन्ने उद्देश्य लिएर अभ्यास गर्नुपर्ने भनाइ राख्नुहुन्छ । उहाँ सदनमा केही सांसदले भाषण गर्दा ‘असीमित समय’ पाउने अभ्यासप्रति पनि असहमत हुनुहुन्छ ।अहिले पनि पूर्वप्रधानमन्त्री सदनमा आउनुहुन्छ र साढे तीन घण्टासम्म भाषण गरेर जानुहुन्छ । १५ मिनेटमै सकिने विषयका लागि किन त्यति धेरै समय दिएको थाहा छैन ।स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नुभएका झासँग विज्ञापन, व्यवस्थापन, नीति र बजार अनुसन्धानका क्षेत्रमा डेढ दशकभन्दा बढी काम गरेको अनुभव छ । संसदीय अभ्यासलाई बाहिरबाटै नियालिरहनुभएका आफूसँग १० महिनाअघि सांसद हुँदै गर्दा धेरै हौसला, जिम्मेवारी र काम गर्ने चाहना भएको उहाँले सुनाउनुभयो । “गत वर्ष पुस ७ मा सांसदका रुपमा सपथ लिँदै गर्दा धेरै काम गर्छु भन्ने लागेको थियो । सबैतिरबाट प्राप्त हौसलाले आफ्नो जिम्मेवारी बढेको महसुस भएको थियो।सांसद झा विधायिकामा अध्ययन र विषयप्रतिको चिन्तनमा कमी भएको देख्नुहुन्छ । “सांसदहरु त सबैका लागि रोल मोडल बन्न सक्नुपर्ने हो, केही उदाहरणीय सांसद पनि हुनुहुन्छ तर त्यो सङ्ख्या निकै कम छ ।कुराकानीका क्रममा जनताका प्रतिनिधिलाई पनि सदनमा ‘असाइनमेन्ट’ दिने अभ्यास सुरु गर्नुपर्ने धारणा राख्नुभयो । जनताले आफ्नो अमूल्य मत दिएकाले त्यसको सम्मानका लागि पनि सांसदमा पर्याप्त अध्ययन र असाइनमेन्ट जरुरी भएको उहाँको तर्क छ । “सांसद बन्नु र कुनै विषयमा गहनरुपमा जानकार हुनु फरक हो, सांसदले आफूले कुनै विषयमा नीतिगत तहमा कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा सचेत हुनैपर्छ ।सार्वजनिक लेखा समितिका सदस्यसमेत रहनुभएका सांसद झाले समितिको असल अभ्यास सदनमा समेत लागू गर्नुपर्ने उहाँले बताउनुभयो । “संसदीय समितिका बैठकमा म पार्टी बिर्सिन्छु । सङ्घीय सदनको पूर्ण बैठकमा पनि हामीले दल बिर्सनुपर्छ, दलका नेता बिर्सिर नीति सम्झनुपर्छ ।विधायिकाको भूमिका कानुन निर्माणसँगै सरकारका कामकारबाहीमा पनि हुने उहाँको भनाइ छ । उहाँ जनप्रतिनिधिहरु जिम्मेवारीलाई कसरी कुशलतापूर्वक निर्वाह गर्नेभन्दा पनि मतदाता रिझाउने र ‘स्टन्ड’मार्फत लोकप्रिय हुनेमा केन्द्रित हुनु दुःखद् भएको टिप्पणी गर्नुहुन्छ । “यहाँ त सपथ ग्रहणको भोलिपल्टदेखि अर्को चुनाव कसरी जित्ने भन्ने चिन्ताले खाने रहेछ, नीति राम्रो बनाउनेभन्दा पनि कसरी निर्वाचन क्षेत्रमा बजेट बढाउने भन्नेमै ध्यान जाँदा उहाँहरुको भूमिका कमजोर बन्न पुग्छ ।तपाईं हेर्नुभयो भने चैतदेखि असारसम्म निर्वाचनमा बजेट पार्नका लागि आधाभन्दा बढी सांसद सिंहदरबार धाउनुहुन्छ । निर्वाचन क्षेत्रमा बजेट पार्न सकिएन भने अर्को पटक निर्वाचन जित्न गाह्रो हुन्छ ।अन्य राजनीतिक दलसँगै यतिबेला रास्वपा पनि विधायिकाको भूमिका भुलेर ‘मिसन २०८४’मा केन्द्रित भएको हो भन्ने प्रश्नमा सांसद झा त्यो सत्य नभएको बताउनुहुन्छ । “हामीहरु आफ्नो भूमिकाप्रति सचेत छौँ, ‘परिवर्तनका लागि मिसन ०८४’, हाम्रो पार्टीको आधिकारिक दस्तावेजमा पनि छैन, मतदाताबाट आएको यो आवाजलाई हामीले अपनाएको मात्र हो ।उहाँले पार्टीभित्र पनि सांसदको भूमिकाबारे निर्ममरुपमा समीक्षा भइरहेको बताउनुभयो । “हाम्रा साथीहरु विदेश भ्रमणमा जान थाल्नुभएको, विदेशका कार्यक्रममा लालचा बढेको वा संसद्मा हाजिर गरेर पार्टीको कार्यक्रम छ भनेर निस्कने अभ्यास बढेको हो कि भनेर हामीले निरन्तर समीक्षा र आत्मसात् गरिरहेका छौँ । सदनमा सत्तापक्षको बहुमतको दम्भ घातक भइरहेको छ । मैले सदनमार्फत पनि यो कुरा उठान गरिसकेको छु।”उहाँले जनताको चाहना र भावनाले संसद्मा स्थान नपाएको गुनासो गर्नुभयो । “जनभावना सुन्ने क्रममा हामी देशका विभिन्न जिल्लामा पुग्यौँ । अहिले जनतामा ‘पोलिटिकल फ्रस्टेसन’ बढेको पायौँ”, उहाँले भन्नुभयो, “त्यसलाई चिर्दै जनतामा आशा, भरोसा र विश्वास जगाउने जिम्मेवारी हाम्रै काँधमा आइपरेको छ ।”








