मोरङ, २७ असोज |
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा मध्यावधि निर्वाचन रोक्न वर्तमान सरकार गठन भएको बताउनुभएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङबाट आज मुख्यमन्त्रीको नियुक्तपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रदेशसभा सदस्यहरूकाे सामूहिक प्रयास र जनतामा विकास र समृद्धिको आशा जगाउने उद्देश्यले सरकार निर्माण गरिएको बताउनुभयो ।मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधार (५) अनुसार निर्माण भएको यो सरकारप्रति नेपाली कांग्रेसले सकारात्मकरूपमा लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान, ऐनअनुसार मुख्यमन्त्रीलाई प्राप्त अधिकारअनुसार जनताको हितका लागि काम गर्ने बताउनुभयो ।मुख्यमन्त्री कार्कीले शपथग्रहणपछि मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिनुभयो । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । नेता थापाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर साथ रहने बताउनुभयो । प्रदेशमा विकसित राजनीतिक घटनाक्रमले गठबन्धनलाई कुनै असर नपुग्ने र प्रदेशमा गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने उहाँको भनाइ थियो ।यसअघि आजै बसेको प्रदेश कांग्रेसको संसदीय दलको बैठक बसेको थियो । बैठकमा २९ जना प्रदेशसभा सदस्यमध्ये १९ जना उपस्थित हुनुहुन्थ्यो ।








