जानकी (बाँके), २१ असोज |

बाँकेको जानकी गाउँपालिका हुँदै खजुरा दुई सीतापुर जोड्ने परसपुर–गौघाट सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु गरिएको छ । निर्माणको ठेक्का पाएर सम्झौता गरेको झण्डै डेढ वर्षपछि नेपालगञ्ज उपमहानगरपालिकाको सडक खण्डको प्रारम्भिक चरणको निर्माण सुरु भएको हो ।ठेकेदार कम्पनीले सम्झौता भएको १६ महिनापछि शुक्रबारकादेखि परसपुर–गौघाट सडकखण्डमा सुरुआती चरणमा खाल्डाखुल्डी सम्याउने काम सुरु गरेको खजुरा गाउँपालिका २ का वडाअध्यक्ष धनराम ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा खाल्डाखुल्डी सम्याउने र दसैँपछि माटो पटान काम गर्ने बताउनुभयो । सम्झौताअनुसार समयमै निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाउने प्रतिबद्धता गरिएको छ ।अध्यक्ष ओलीले भन्नुभयो, “ठेक्का भएर पनि समयमै काम सुरु हुनसकेन । यसबाट जनतालाई थप दुःख भोग्नुपरेको छ । जनताको समस्या बुझेर हामीले सम्बन्धित निकायलाई पटक–पटक दबाब दिने काम गरेका छौंँ । शुक्रबारबाट काम सुरु भएको छ ।” करिब १० किलोमिटर सडक कालोपत्रका लागि कन्काई र गणपति रु १३ करोड ४३ लाखमा जिम्मेवारी पाएको थियो । कम्पनीले अघिल्लो वर्ष वैशाख २५ गतेदेखि सडक निर्माण सुरु गरी २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी सडक डिभिजन कार्यालय नेपालगञ्जसँग सम्झौता गरेको थियो ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्वाचन क्षेत्र रणनीतिक सडक अन्तर्गत आर्थिक वर्ष २०७८/७९ मा बजेट विनियोजन गरी निर्माण सुरु गरेको हो । उक्त सडकलाई बर्दियाको कन्ठपुरहुँदै गुलरिया सडकखण्डमा जोड्ने योजना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here