जानकी (बाँके), १५ असोज |
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बाँके राष्ट्रिय निकुञ्जमा सोमबारदेखि ‘टाइमकार्ड’ लागू गरिएको छ ।राजमार्गमा सवारी साधन दुर्घटनाका साथै सवारी साधनको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने दर बढेपछि टाइमकार्ड लागू गरिएको निकुञ्जका सूचना अधिकारी अर्जुन भुसालले बताउनुभयो । “निकुञ्ज क्षेत्रभित्र सवारी साधन दुर्घटना हुनाका साथै सवारी साधनबाट वन्यजन्तुको सुरक्षा उच्च जोखिममा परेको हुनाले टाइमकार्डको व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो । निकुञ्जका सूचना अधिकारी भुसालले बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित शम्शेरगञ्जको ओभरीदेखि कचनापुर जिरो पोइन्ट (खैरी चेक पोष्ट) सम्म टाइमकार्ड लागू गरिएको बताउनुभयो ।उहाँका अनुसार निकुञ्ज क्षेत्रभित्र १५ किलोमिटर दूरीमा टाइमकार्डको व्यवस्था लागू गरिएको छ । सवारी साधनका चालकलाई उक्त दूरी पार गर्न २३ देखि २८ मिनेटको समय दिइएको छ । सूचना अधिकारी भुसालका अनुसार निकुञ्ज क्षेत्रमा सवारी साधन र वन्यजन्तु सवारी दुर्घटनाको उच्च जोखिममा परेको भन्दै निकुञ्ज आसपासमा रहेका स्थानीय, नागरिक समाज, व्यवसायीलगायत सम्बन्धित पक्षले टाइमकार्डको व्यवस्था लागू गर्न सुझाव दिएअनुसार नै टाइमकार्ड लागू गरिएको हो ।
निकुञ्ज क्षेत्रमा हुने सवारी साधन दुर्घटना रोक्न सवारी साधन बिग्रिएर सडकमा राख्नुपर्ने अवस्थामा अनिवार्य रूपमा सवारी साधनको ५० मिटर अगाडि र ५० मिटर पछाडि ‘रिफ्लेक्टर ट्याङगल’ राख्ने, बिग्रेको सवारी साधन मर्मतका लागि एक घन्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारी धनी र व्यवसायी पक्षले खर्च व्यहोर्ने गरी सुरक्षा निकायले सवारी साधनलाई निकुञ्जभन्दा बाहिर ल्याएर राख्ने तथा निकुञ्ज क्षेत्रमा फोहोर नगर्ने निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको छ ।आजदेखि लागू हुने गरी गरिएको टाइमकार्डको व्यवस्थापनमा बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, नेपाल प्रहरीलगायत सम्बन्धित पक्षधरहरुको उपस्थित रहेको थियो । विसं २०६७ मा बाघको बासस्थान र जैविक मार्ग संरक्षणको उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज पाँच सय ५० वर्ग किमी क्षेत्र समेटेर नेपालको दसौँ राष्ट्रिय निकुञ्जका रुपमा रहेको छ । उक्त निकुञ्ज बर्दिया, दाङ र सल्यान गरी तीन जिल्लासँग जोडिएको छ ।








