हान्झाउ,१३,असोज ।
डेढ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै १९औं एसियाड खेलेका अभिनाश बोहराले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै खेलमा ६ विकेट लिने पहिलो नेपाली बलरको कीर्तिमान बनाए ।चीनको हान्झाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भएको समूह ए को दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराउँदा अभिनाशले कीर्तिमानी प्रदर्शन गरे ।उनले ३.४ ओभरमा ११ रन मात्र खर्चेर ६ विकेट लिएपछि २१३ रनको लक्ष्य पछ्याएको माल्दिभ्स २ बल अगावै ७४ रनमा अलआउट भयो । नेपाल लगातार दुई खेल जित्दै समूह ए को विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ ।नेपालको लागि ६ विकेट लिने पहिलो बलर बनेका अभिनाशले ह्याट्रिक विकेट लिने अवसर २ पटक बनाएका थिए । तर त्यसबाट भने दुई पटक नै उनी बञ्चित भए ।‘५ विकेट लिने लक्ष्य थियो । एकदमै राम्रो लागिरहेको छ,’ कीर्तिमानी प्रदर्शनपछि अभिनाशले भने, ‘ह्याट्रिक भएको को भए अझ राम्रो हुन्थ्यो ह्याट्रिक भएन । फस्ट र लास्टमा २ पटक ह्याट्रिक मिस भयो ।’टी-२० स्पेशलिस्ट बलरको रुपमा परचित भए पनि अभिनाशले राष्ट्रिय टिममा निरन्तर स्थान बनाउन भने सकेका थिएनन् ।गत वर्ष अप्रिलमा कीर्तिपुरमा भएको मलेसिया र पपुवा न्यु गिनी सम्मिलित त्रिकोणात्मक टी-२० सिरिज खेलेका उनले त्यसपछि पहिलो पटक नेपालका लागि खेलेका हुन् ।आइतबार नेपालले फास्ट बलर करण केसीलाई बाहिर राख्दै विनोद भण्डारीलाई पहिलो रोजाईँमा खेलाइएको थियो ।पहिलो खेलमा सोमपाल कामी, करण केसी, गुल्शन झापछि चौथो बलरको रुपमा खेलेका अभिनाशले २ ओभरमा १ मेडन राख्दै २ रन खर्चेर २ विकेट लिएका थिए ।माल्दिभ्स विरुद्ध अभिनाशले छैटौं र अन्तिम ओभरमा ३-३ विकेट लिए ।छैटौं ओभरको तेस्रो र चौथो बलमा विकेट लिएका उनी ह्याट्रिक नजिक पुगे पनि चुके । तर छैटौं बलमा विकेट लिँदै एकै ओभरमा ३ विकेट लिए । त्यसपछि उनले अन्तिम ओभरको पहिलो र दोस्रो बलमा विकेट लिँदै फेरि ह्याट्रिक नजिक पुगेका थिए । तर तेस्रो बलम विकेट लिन नसक्दा ह्याट्रिकबाट वञ्चित भए । यद्यपि चौथो बलमा विकेट लिँदै एकै खेलमा ६ विकेट लिए ।मंगोलियाविरुद्धको खेलमा दुई विके लिएका उनले दोस्रो खेलपछि आफ्नो पुरानो लय भेट्टाएको महसुस गरे । ‘पहिलो म्याच खेल्दा खासै फिल भएको थिएन । आज पूरानो लयमा फर्किएको जस्तो फिल भयो ।’सन् २०१९ मा युएईविरुद्ध टी-२० आईमा डेब्यु गरेका अभिनाश पहिलो सिरिजमै प्लेअफ दि सिरिज बनेका थिए । त्यसपछि उनले २०२० फेब्रुअरीमा ओडीआईमा पनि डेब्यु गरेका थिए । तर उनी ओडीआई भन्दा टी-२०आईमा फिट हुने बलर हुन् ।
मात्र २ वटा ओडीआई खेलेका उनले ३७ टी-२०आईमा ४८ विकेट लिएका छन् ।उनी नेपालका लागि टी-२०आईमा सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् । सन्दीप लामिछानेले सर्वाधिक ८८ र करण केसीले ६२ विकेट लिएका छन् । एक दशकदेखि नेपालका लागि खेल्दै आएका सोमपाल कामीले ४० विकेट लिएका छन् ।कप्तान रोहितले अभिनाशको बलिङको प्रशंसा गरे । ‘आजको गेममा अभिनाश दाईले योर्करहरु फालिराख्नुभयो । एकदमै राम्रो बलिङ थियो ।’समूह चरणमा तुलनात्मक रुपमा दुई कमजोर टिमसँग खेलेको नेपालले अब क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेश मध्ये एक टिमसँग खेल्नुपर्छ ।टी-२०आईमा नेपालले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो टिम बंगलादेश हो । सन् २०१४ मा बंगलादेशमै भएको टी-२० विश्वकपमा नेपालले बंगलादेशसँग खेलेको थियो ।टेष्ट राष्ट्रका टिमहरु वानडे विश्वकपका लागि भारतमा रहेकोले सबै टिमले दोस्रो रोजाईँको टिमलाई एसियाडमा पठाएका छन् । तर पनि ती टिम राम्रो रहेको भन्दै अभिनाशले राम्रो टिमसँग खेल्नु पाउनु अवसर भएको बताए । ‘राम्रो टिमसँग खेल्नु अवसर हो । हाम्रो लागि राम्रो म्याच पनि हुन्छ । राम्रो प्रदर्शन हुन्छ,’ उनले भने, ‘जस्तो सुकै टिम भए पनि राम्रो खेल्ने हो । प्रदर्शन राम्रो गर्ने र देशको लागि मेडल जित्ने लक्ष्य हो ।’अभिनाशले टेष्ट राष्ट्रसँग खेल्दा कठिन हुने तर विकेट अनुसार के हुन्छ भन्न नसकिने बताए । ‘ठूलो टिमसँग खेल्दा कठिन त हुन्छ । यहाँ भएका टिमहरु राम्रो नै छ । यो विकेटमा केही भन्न सकिन्न जे पनि हुन सक्छ । कुनै बल लुकेर आउन सक्छ । ब्याटिङ गर्न सजिलो चाहीँ छैन ।’
क्वाटरफाइनलमा बलियो टिमसँग खेल्ने भएकोले नेपालले माल्दिभ्स विरुद्ध ब्याटिङमा सबैलाई अवसर दिएको थियो । पहिलो खेल खेलेका विनोद भण्डारीलाई वान डाउनमा खेलाएको थियो भने त्यसपछि सन्प जोरा र गुल्शन झालाई खेलाइएको थियो ।कप्तान रोहित पौडेलले माल्दिभ्स विरुद्ध छैटौं नम्बरमा ब्याटिङ गर्दा अघिल्लो खेलमा कीर्तिमान बनाएका कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी सातौं र आठौं नम्बरमा आए । कुशलले माल्दिभ्स विरुद्ध पनि आक्रमक ब्याटिङ गर्दै २० बलमा नटबउट ४७ रन बनाए ।पुनरागमन मा विकेटकिपङ सहित तेस्रो नम्बरमा ब्याटिङ अवसर पाएका विनोद १३ रनमा आउट भए ।कप्तान रोहितले आगामी खेललाई ध्यानमा राखेर टस जितेर ब्याटिङ गरेको र सबैलाई अवसर दिएको बताए ।‘ब्याटिङ युनिटले राम्रो गरेको छ । आउने खेलमा कठिन अवस्थामा सबैले ब्याटिङ पाउँदैन । क्वाटरफाइनलअघि सबैले ब्याटिङ पाओस भनेर टस जितेर ब्याटिङ रोजेको हो । सबैले अवसर पाए’, उनले भने ।उनले जुन खेल खेल रन बनाउने मानसिकताका साथ खेल्ने र टिमलाई योगदान गर्ने आफ्नो र टिमको लक्ष्य हुने बताए । आउने खेलहरुमा पनि यही लय कायम राख्न सके राम्रो हुने उनले बताए ।क्वाटरफाइनलमा ठूलो टिमसँग खेल्नका लागि नेपाल उत्साहित रहेको र चुनौती पनि रहेको रोहितले बताए । ‘हामी एकदमै उत्साहित छौं । चुनौती पनि छ । टी-२०मा जे पनि हुन्छ सक्छ । यो विकेट चुनौतीपूर्ण छ,’ उनले भने, ‘हाम्रो बलिङ राम्रो छ । हामीले राम्रो ब्याटिङ गरे जुन सुकै टिमलाई चुनौती दिन सक्छौं । एकदमै उत्साहित छौं र खेलको लागि तयार छौं ।’रोहितले दुई खेल खेलिसकेकोले नेपाललाई विकेटकाबारे थाहा भएकाले फाइदा हुने बताए । ‘हामीले दुई खेल खेलेको छौं । फाइदा छ विकेटका कसरी खेल्ने भनेर अनुभव छ तर हामी ओभर एक्साइटेड छैनौं । प्रोसेसहरु फलो गर्नेछौं ।’नेपालले १९औं एसियाडमा नवौं दिनसम्म कुनै पदक जित्न सकेको छैन र क्रिकेटबाट पदक जित्ने मानसिकताको साथ आएको र जसरी हुन्छ मेडल जितेर जाने लक्ष्य रहेको रोहितले बताए ।








