जनकपुरधाम, १३ असोज |

जिल्ला बाल सङ्गठन धनुषाको स्वामित्वमा रहेको जनकपुरधामस्थित श्री आधारभूत विद्यालय (बाल मन्दिर)बारे जानकारी नभएका सायद कोही होलान् । विसं २०३३ देखि सञ्चालित बाल मन्दिरले गरिब तथा असहाय बालबालिकाको पठनपाठन र लालनपालनको जिम्मेवारीसमेत सम्हाल्दै आएकाले पनि परिचित थियो । तर विसं २०७४ पछि भने यहाँ अन्य सार्वजनिक सामुदायिक विद्यालयमा जस्तै नियमित पठनपाठन मात्रै भइरहेको छ ।कक्षा सातसम्म अध्ययन अध्यापन हुने बाल मन्दिरमा अहिले दुई सय ६४ विद्यार्थी छन् । त्यसैगरी प्राविमा तीन, निमाविमा एक, बाल विकासमा दुई, स्वयंसेवक दुई र कार्यालय सहयोगी एक जना गरी नौ शिक्षक कर्मचारी कार्यरत छन् । यसमध्ये प्राविका तीन स्थायी शिक्षकबाहेक छ जना करारमा काम गरिरहेका छन् । करारमा काम गर्ने छमध्ये सहयोगीसहित तीन (दुई स्वयंसेवकसहित) को तलब बाल मन्दिर आफँैले व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ ।कुनै बेला जनकपुर क्षेत्रमा प्रसिद्ध यो बाल मन्दिर पछिल्लो समय भने समस्याले घेरिँदै छ । आर्थिक अभावले शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन गर्न नसक्दा विद्यार्थी घट्दो क्रममा छन् । आन्तरिक स्रोतबाट व्यवस्थापन गर्नुपर्ने कर्मचारीलाई तलब खुवाउनै मुस्किल छ । रेखदेख, नियमन र व्यवस्थापनका लागि विसं २०७४ मा पुरानो समिति विघटन भएपछि अभिभावकत्व निर्वाह गर्ने कुनै समिति छैन । यसले गर्दा समस्यामाथि समस्या छन् । आर्थिक अभावले अतिरिक्त शैक्षिक गतिविधि सञ्चालन र कर्मचारीलाई तलब खुवाउन समस्या भोगिरहेको यस विद्यालयमा आन्दानीको आन्तरिक स्रोत नभएको पनि होइन, वार्षिक छ लाखभन्दा बढी त भाडा रकम मात्रै उठ्नुपर्नेछ । तर त्यसरी भाडा तिर्ने सहमतिसहित बाल मन्दिरकै संरचनामा उच्च तहको शिक्षा दिइरहेको एउटा निजी क्याम्पसले नियमितरुपमा भाडा नतिर्दा निकै समस्या भएको प्रधानाध्यापक श्यामप्रसाद साहले जानकारी दिनुभयो ।

बाल मन्दिरकै संरचनामा विगत करिब २५ वर्षदेखि भाडामा सञ्चालित सो पब्लिक युथ क्याम्पसले भाडाबापतको करिब रु ३४ लाख बक्यौता तिर्न बाँकी हुँदा शैक्षिक सुधारका क्रियाकलाप सञ्चालन र विगत छ÷सात महिनादेखि आन्तरिक स्रोततर्फका कर्मचारीलाई तलब खुवाउनसमेत नसकेको उहाँको गुनासो छ । यसले गर्दा गुणस्तरीय शिक्षण सिकाइ र अतिरिक्त क्रियाकलाप सञ्चालन हुन नसक्दा भएकै विद्यार्थी पनि घट्दो अवस्थामा रहेका र तलब खुवाउन नसक्दा शिक्षक पनि निराश रहेका उहाँले बताउनुभयो ।“कुनै बेला गरिब र असहायको सहरा बाल मन्दिर अहिले आफैँ अरुको सहारामा बाँच्नुपर्ने अवस्था आएको छ । न्यूनतम खर्चको व्यवस्थापन सरकारले गरिदिएको भए पनि अरु क्रियाकलाप सञ्चालनका लागि आर्थिक अभाव छ । भाडामा दिएको क्याम्पसले वर्षौंदेखिको दायित्व भुक्तानी गरेको छैन । यस विषयमा जिल्ला प्रशासन कार्यालय, समन्वय समितिलगायतलाई गुहार्दा पनि समस्या समाधान भएन । यसले गर्दा हामी निराश छाँै ।जिल्ला बाल सङ्गठनका पूर्वअध्यक्ष रामरतन मिश्रले पवित्र सामाजिक कार्य गर्ने उद्देश्यसहित स्थापित बाल मन्दिरको संरचना प्रयोग गरेर भाडा नतिर्नु दुःखद् भएको बताउनुभयो । विसं २०७४ अघिसम्म आफू अध्यक्ष हुँदा पनि भाडा असुल गर्न समस्या हुने गरेको स्मरण गर्दै उहाँले अहिले ३४ लाखभन्दा बढी भुक्तानी नगरेको सुन्दा नरमाइलो लागेको बताउनुभयो । “म अध्यक्ष भएकै बेला तत्कालीन सरकारले समिति विघटन गरी देशैभरि बाल सङ्गठनमा नियुक्त ग¥यो ।विघटन राजनीतिक कुरा भयो तर त्यसपछि बाल सङ्गठनलाई व्यवस्थित गर्नुपथ्र्यो, भएन । लामो इतिहास र सामाजिक महत्व बोकेको संस्थालाई व्यक्तिगत लाभका लागि प्रयोग गर्ने र त्यसलाई समस्यामा पार्ने काम कसैले गर्नुहुँदैन । त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डलले बाल मन्दिरले भाडा असुलीका लागि सहजीकरण गरिदिन भनी जिल्ला प्रशासनलाई पठाएको पत्रको बोधार्थ प्राप्त भएपछि समन्वयको प्रयास गर्दा पनि निकास ननिस्किएको बताउनुभयो । उहाँले पब्लिक युथ क्याम्पस व्यवस्थापन पक्षलाई भुक्तानीका लागि समय तोकेर कबुल गर्दा पनि सोअनुसार नभएको बताउनुभयो । “यस विषयमा कुरा हुँदा पटक पटकको भाका सारेर भदौ १५ भित्र जसरी पनि बक्यौता भुक्तानी गर्ने र तत्काललाई शिक्षकको तलब खुवाउन पुग्ने पैसा दिन निर्देशन भएको थियो तर अहिलेसम्म त्यसको पालना भएन ।

पब्लिक युथ क्याम्पसमा स्नातकसम्मको पढाइ हुन्छ । जहाँ करिब पाँच सय विद्यार्थी छन् । बाल मन्दिरका १४ कोठा पूर्णकालीन रुपमा र पाँच कोठा बिहान छ बजेदेखि ९ः४५ बजेसम्म प्रयोग गर्ने गरी विसं २०७२ साउन १ गतेदेखि लागू हुने गरी अन्तिम पटक जिल्ला बाल संगठनका तत्कालीन अध्यक्ष रामनरेश मिश्र र क्याम्पस सञ्चालक शिवनारायण झाबीच सम्झौता भएको थियो । सम्झौतानुसार प्रत्येक वर्ष १० प्रतिशतका दरले बढ्ने गरी सुरुमा वार्षिक चार लाख ८० हजार भाडा तय भएकामा अहिले त्यो दर रु छ लाख ३८ हजार ८० पुगेको छ । पब्लिक युथ क्याम्पसले थप विजुली, पानी र टेलिफोनको समेत शुल्क तिर्ने सम्झौता छ । तर यो सबै गरी हालसम्म ३४ लाखभन्दा बढी रकम बक्यौता रहेको बाल मन्दिर व्यवस्थापन पक्षको छ ।युथ क्याम्पसका सञ्चालक शिवनारायण झा भने क्याम्पस सञ्चालनका लागि भौतिक संरचना निर्माण र अन्य व्यवस्थापकीय काममा समेत लगानी गरेकाले बाल मन्दिरले दाबी गरे जति बक्यौता रकम तिर्न बाँकी नरहेको दाबी गर्नुहुन्छ । उहाँका अनुसार संरचना निर्माण, कोभिड महामारीका बेला आठ महिनाको भाडा मिनाहा गर्ने निर्णय कार्यान्वयन र बीचबीचमा भुक्तानी गरेको रकमको हिसाब गर्दा धेरै बक्यौता छैन । “मेरो अरु व्यापार व्यवसायका सन्दर्भमा भएको कानुनी झमेलाका कारण अहिले प्रत्यक्षरुपमा क्याम्पस प्रशासन हेर्न पाइरहेको छैन । हाम्रो पक्षबाट केही कमजोरी पक्कै भएका छन् तर बाल मन्दिरले भने जति रकम तिर्न बाँकी छैन । अब दसैँअगाडि नै हिसाब किताब गरेर समस्या समाधान गर्ने मेरो प्रयास छ ।”बाल मन्दिरका प्रधानाध्यापक साह आफू जिम्मेवारीमा आउनुभन्दा पहिले अर्थात् आव २०७८÷०७९ सम्मको असुलउपर गर्नुपर्ने भाडाबापतको दायित्व रु २१ लाख ८९ हजार एक सय ४१, आव ०७९÷८० को रु छ लाख ३८ हजार ८० र रु छ लाखभन्दा बढी विद्युत् महसुल तिर्न बाँकी रहेको बताउनुहुन्छ । “भुक्तानीका विषयमा पटक पटक कुरा भएको छ । यो एकाएक आएको विषय होइन । उहाँहरुले पनि हामी दिन्छौँ भनेर भनेको वर्षौ भइसक्यो । कर्मचारीले तलबै खान नपाउने भएपछि अब विद्यालयको पठनपाठन नै प्रभावित हुने अवस्था आइसक्यो । त्यसैले यो समस्या तत्काल समाधान गर्न आग्रह गर्दछु ।विसं २०७४ मा बाल सङ्गठन जिल्ला समिति विघटन गरिएपछि व्यवस्थापकीय जिम्मेवारी बहन गर्ने ठोस संरचना छैन । यसका कारण विद्यालयमा बेलाबेला आउने समस्या समाधानमा कठिनाइ हुने गरेको छ । अधिकार सम्पन्न समिति नहुँला वर्षौंदेखि लाखाँै रकम बक्यौता र आर्थिक अभावमा स्वयंसेवक शिक्षकको तलब तथा न्यूनतम आवश्यकता पूर्ति गर्न नसक्दासमेत समस्या समाधानको ठोस पहल गर्न नसकिएको सरोकारवालाको बुझाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here