कास्की, १२ असोज |

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।प्रतियोगितामा च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’ रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउने छन् ।एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात् गर्दै आएको अध्यक्ष आचार्यको भनाइ छ ।अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखि युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधि, खेल प्रशिक्षण र प्रतिस्पर्धा आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिकसहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”सङ्घीय राजधानीदेखि सात प्रदेशसम्मलाई समेटेर आयोजना गरिएको प्रतियोगिताबाट धेरै खेलाडी र खेलप्रेमी लाभान्वित भएको एकेडेमीको भनाइ छ । पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने पूर्वराष्ट्रिय खेलाडी एवं एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताउनुभयो ।एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरु वर्ग र खेललाई माया गर्ने खेलप्रेमी आबद्ध रहेको बताइन्छ । ‘सबैका लागि खेलकुद’ को नारासहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here