काठमाडौँ, ११ असोज |

नेपाली चलचित्रमा केही समय यता कथाको शैलीमा परिवर्तन आएको छ । कथाको आकर्षणले अभिनेतालाई चरित्र निर्वाह गर्न बाध्य बनाउने अभिनेता भोलाराज सापकोटाले बताउनुभएको छ । उहाँले चलचित्र ‘कौसीद’ को भूमिका सुनेपछि काम गर्न सहमत भएको बताउनुभयो । चलचित्रमा इमान्दार शिक्षकले भोग्ने पीडा देखाइएको उहाँले बताउनुभयो ।भारतमा ‘वर्फी’ चलचित्रमा काम गरेपछि चर्चामा आउनु भएका अभिनेता सापकोटा नेपाली चलचित्र र रङ्गमञ्चको स्थापित नाम हो । “मैले नेपाली रङ्गमञ्चमा काम नगरेको होइन, तर बलिउडको प्रभाव बढी भएकाले अभिनेता रणवीर कपूरका साथी भनेर चिनारी पाएको छु । नेपाली नाटक प्रेमीले मलाई विभिन्न नाटकका पात्रको रुपमा चिन्नुहुन्छ ।मैले देखेका थुप्रै शिक्षकमार्फत प्रभावित भएर कौसीदको पात्र बन्न तयार भएको हुँ ।” चलचित्रमा उहाँले इमान्दार शिक्षकको भूमिका निर्वाह गर्नुभएको छ ।श्रीमती र आफन्तको अनुरोधमा बैंकबाट ऋण लिएर घर निर्माण गरेपछि अचानक बढ्ने ब्याजदरले निम्त्याउने समास्या चलचित्रमा देखाइएको छ । उहाँले इमान्दार भएर सामना गर्नुपर्ने कठिनाइलाई चलचित्रमा देखाइएको बताउनुभयो ।चलचित्रको कथासार मन परेपछि चरित्र निर्माणमा उहाँ स्वयम् खटिनुभएको थियो । “प्राय निर्देशकले नै पात्रलाई तयार गर्नुहुन्छ । मसँग केही उदाहरण भएकाले मैले प्रयोग गर्ने अनुमति मागे र पाए पनि । यस्ता चलचित्रले अप्ठ्यारो स्थितिमा पनि संयमता गुमाउनु हुदैन भन्ने सन्देश दिन्छ । यो हाम्रै समाजमा घटिरहने एउटा कथा हो”, अभिनेता सापकोटाले भन्नुभयो ।कुमार भास्करले निर्देशन गर्नुभएको चलचित्रमा अभिनेता सापकोटासँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई, सन्दिप लोहनीलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here