ढोरपाटन (बागलुङ), १० असोज |

हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक तथा पर्यटकीय क्षेत्रबारे धेरै चर्चा गरिए पनि अन्य दिन सरोकारवालाले त्यति ध्यान दिएको पाइँदैन । बागलुङका थुप्रै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु अहिले पनि ओझेलमा छन् । चर्चामा रहेका केही गन्तव्यहरुमा भने पूर्वाधार निर्माण नहुँदा पर्यटनमैत्री बन्नसकेका छैनन् ।प्राकृतिक सौन्दर्यले भरिएका पर्यटकीय ठाउँसँगै मानव निर्मित धार्मिक स्थल पनि बढ्दै गएका छन् । ती स्थलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको पनि आगमन राम्रै भए पनि सम्बन्धित निकायले भौतिक पूर्वाधारमा लगानी गर्न नसकेको गुनासो बढेको छ । बागलुङ बजार नजिकै बागलुङ कालिका, सर्वसिद्धि धाम पञ्चकोट, सालिग्राम सङ्ग्राहलय, विश्वको सबैभन्दा लामो भनिएको झेलुङ्गे पुल छन् । यी ठाउँमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्यै छ । प्राकृतिक सौन्दर्यले भरिएको ढोरपाटन, गाजाको दह, रिगताल, घुम्टे, नरसिंहकोट, बराह ताललगायत ठाउँमा भने कम मात्रै पर्यटक पुग्ने गरेको पाइन्छ । यी ठाउँसम्म पुग्ने पदमार्ग तथा सडक व्यवस्थित नहुँदा पर्यटक कम पुग्ने गरेका हुन् ।

जिल्ला सदरमुकाम वरपर रहेका मानव निर्मित गन्तव्यमा भौतिक पूर्वधारले सम्पन्न र सहज पहुँच मार्गका कारण पर्यटक बढ्ने गरेको पाइन्छ । बजारभन्दा टाढा रहेका पर्यटकीय गन्तव्यको प्रचारप्रसार हुन नसक्दा धेरै पर्यटक पुग्न नसकेको होटल व्यवसायी सङ्घका अध्यक्ष निलेश राजभण्डारीले बताउनुभयो ।“बागलुङका धेरै पर्यटकीय ठाउँ अहिले पनि ओझेलमा छन्, तिनीहरुको प्रचारप्रसार गर्न सके धेरै पर्यटक बागलुङमा ल्याउन सकिन्छ, यति धेरै सम्भावना बोकेका ठाउँ छन् तर त्यहाँ व्यवस्थित संरचना बन्न सकेको छैनन्, सडकको अवस्था बेहाल छ, प्रचारप्रसारमा कसैको ध्यान छैन अनि कसरी पर्यटक पुग्न सक्छन्  ।पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले अहिलेसम्म पर्यटन बोर्ड र सरकारबाट आउने बजेट समन्वय नगरी आउने हुँदा पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउनुभयो । यस समितिले अब पर्यटन बोर्डलगायत अन्य निकायसँग सहकार्य गरेर यहाँको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गरिने उहाँको भनाइ थियोे ।पर्यटन बोर्डसँग पनि सहकार्य गर्ने तयारीमा छौँ, अब जिल्लाको पर्यटन विकासका लागि ठाउँ–ठाउँका घरबासलाई व्यवस्थित गर्ने, होटल व्यवसायीलाई प्रोसाहित गर्ने र पर्यटन भित्र्यउन कसरी सकिन्छ त्यसतर्फ ध्यान दिएका छौँ ।”बागलुङमा तीनवटा राष्ट्रिय राजमार्ग पर्छन् । तीनवटै राजमार्गले यहाँका पर्यटकीय क्षेत्रलाई जोडेका छन् । मध्यपहाडी लोकमार्गले पूर्व कालिका मन्दिरदेखि पश्चिम पातिहाल्ने, रिगताल जोडेको छ । कालीगण्डकी कोरिडोरले पनि बञ्जी जम्पलगायत गन्तव्यलाई जोडेको छ ।तराई पहाड जोड्ने सालझण्डी–ढोरपाटन सडकले गङ्गरे, नरसिंहकोट र ढोरपाटन सिकार आरक्ष क्षेत्रलाई जोडेको छ । यी मुख्य सडक कालोपत्र भए जिल्लामा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here