काठमाडौं,१०,असोज  ।

सांसदहरुले नेपालमा प्रयोगमा रहेको चिनीको गुणस्तरमाथि प्रश्न उठाएका छन् ।बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा समितिमा आगामी एजेण्डाबारे छलफल थियो जसमा भाग लिने अधिकांश सांसदले नेपालमा गुणस्तरहीन चिनी आयात र उपभोग भइराखेको बताए ।बैठकको सुरुमै बोलेका नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले नेपालमा निर्वाध रुपमा अखाद्य चिनी बिक्री वितरण भइरहेको दाबी गरे ।सांसद बास्कोटाले बैठकमा आउँदा चिनी नै लिएर आएका थिए । सामान्य तरिकाले समेत परीक्षण गर्न सक्ने भन्दै उनले थोरै चिनी तातो पानीमा मिसाए । चिनी मिसिएको पानी अर्कोमा खन्याउँदा गिलासको पिँधमा गिर्खाहरु देखिए ।सँगै रहेका सांसद राप्रपाका राजेन्द्र लिङ्देनले गिलासमा गिर्खा देखिएको बताएपछि सांसद बास्कोटाले भने, ‘देखियो हैन ? यो मैले परीक्षण गरेको होइन र प्रयोगशाला पनि होइन । तर इन प्राक्टिसेस यो छ ।’ब्राउन सुगर (खैरो चिनी) र सेतो चिनीको मूल्य फरक रहेको उल्लेख गर्दै सांसद बास्कोटाले दुवै थरीका चिनीका उत्पादक को हो हेर्न सकिने बताए । अहिले बजारमा बिक्री भइरहेको चिनीले मानव स्वास्थ्यमा असर गरिरहेको उनको भनाइ छ । यस्तो चिनी विदेशबाट आयात भइराखेको भन्दै उनले समितिले छलफलको विषय बनाउनुपर्ने बताए ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले विदेशमा उत्पादित चिनी नेपालमा आएर नेपाली ब्रान्डमा बिक्री वितरण भइराखेको सुनिएको बताए । विदेशमा उत्पादित चिनीमा नेपाली ब्रान्ड र नेपाली गुणस्तर रहेको दाबी गरेर बजारमा चिनी लैजाने विषयलाई लेखा समितिले छलफलको विषय बनाउनुपर्ने उनको माग छ ।नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले चाडपर्वका बेला मात्र बजार अनुगमन गर्ने प्रवृत्तिका कारण अखाद्य वस्तुले बजार पाइराखेको बताउँछन् । साथै नेपालमा वस्तुले भन्दा विदेशमा उत्पादित वस्तुले प्राथमिकता पाउने प्रवृतिका कारण नेपाली उत्पादक, किसान र उपभोक्ता सबै मारमा परिरहेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here