काठमाडौँ, ७ असोज |

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायका लागि आफ्नो पार्टीमा समानुपातिक समावेशी आरक्षणको व्यवस्था सुनिश्चित गरेको बताउनुभएको छ ।कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम सङ्घको तेस्रो महाधिवेशनको उद्घाटन समारोहमा आज उहाँले मुस्लिम समुदायलाई राज्यका निकायमा पनि संविधानअनुसार समानुपातिक समावेशी आरक्षणको व्यवस्था गरिएको उल्लेख गर्नुभयो । सभापति देउवाले निर्वाचनमा जातका आधारमा मात्र भोट दिने चलन हटिसकेको र राम्रो उम्मेदवार हेरेर भोट हाल्ने गरेको सन्दर्भमा त्यसतर्फ समेत ध्यान दिन नेता कार्यकर्ताको ध्यानाकृष्ट गराउनुभयो ।उहाँले मुस्लिम समुदायमा रहेको एकता र सौहार्दताको प्रशंसा गर्दै यसले अन्य समुदायलाई पनि प्रेरणा मिलेको विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा सभापति देउवाले सङ्घले समयमै महाधिवेशन गरेको र यसले अन्य भ्रातृ संस्थालाई पनि प्रेरणा मिल्ने बताउँदै महाधिवेशनबाट एकताका साथ सफल नेतृत्व चयनका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी सबै जातजाति, धर्म र समुदायको प्रतिनिधित्व गर्ने राष्ट्रिय चरित्रको पार्टी भएको उल्लेख गर्दै पार्टी र सरकारमा मुस्लिम समुदायको प्रतिनिधित्व सुनिश्चित हुने गरी काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले हाम्रो समाजमा परापूर्व कालदेखि नै साम्प्रदायिक सद्भाव रहेको उल्लेख गर्दै यसमा कहीँ कसैले खलबल्याउने नियोजित प्रयास गरे त्यसप्रति सबै एकजुट भएर सचेत हुनुपर्ने बताउनुभयो ।साथै उहाँले सङ्घले महाधिवेशनमा छलफल गरी पारित गरेका मागका विषयले पार्टीको महासमिति बैठकमा प्रवेश पाउने विश्वास समेत दिलाउनुभयो । कार्यक्रममा कांग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानअनुसारको समानुपातिक प्रतिनिधित्व कार्यान्वयन गराउन माग गर्नुभयो ।सङघका कार्यवाहक अध्यक्ष अताबुल मन्सुरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कांग्रेस केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, अब्दुल रज्जाक, अब्दुल सत्तारलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । महाधिवेशनमा देशभरका सङ्घका ४३ जिल्ला समितिबाट चार सय ७३ प्रतिनिधिको सहभागिता रहेको छ भने सोमबार ८६ सदस्यीय केन्द्रीय समितिका लागि निर्वाचन प्रक्रिया हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here