जनकपुरधाम,७,असोज ।

धनुषाको बिगही खोलामा खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेका धनुषाको बटेश्वर गाउँपालिका–१ धुमासन टोलका बिनोद महतोका ११ वर्षीय छोरा धिरज कुमार महतो छन् ।शनिबार दिउँसो साथीहरुसँगै बिगही खोलामा खेल्न गएका थिए । त्यहाँ ढुंगा–गिट्टी उत्खनन् गर्नका लागि खनिएको खाल्डोमा जमेको पानीमा उनीहरु नुहाउन खोजेका थिए । त्यहीबेला चिप्लिएर खाल्डोमा खसेका उनी लामो समयसम्म बाहिर ननिस्केपछि सँगै गएका उनका साथीहरुले स्थानीयलाई बोलाएका थिए ।स्थानीयले खाल्डोबाट बाहिर निकालेर उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा पुर्याए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।बटेश्वर गाउँपालिकाको कार्यालयले तीन वर्ष अघि सो खोलाबाट ढुंगा–गिट्टी उत्खनन गर्न ठेक्का लगाएको थियो । पछि ठेक्का रद्द गरिए पनि ठेकेदारले लुकीचोरी डोजर लगाएर उत्खनन जारी राखेका थिए । त्यही क्रममा खोलामा खनिएको ठूलो खाल्डोमा पानी जमेको छ । सोही खाल्डोमा परेर बटेश्वर गाउँपालिका–१ का धिरज कुमार महतोको ज्यान गएको हो ।घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here