सुदूरपश्चिम, ६ असोज  |

कैलालीको कैलारीमा भएको निसर्ग हस्पिटल फुटबल प्रतियोगितामा पुरुषतर्फको उपाधि सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जितेको छ । महिलातर्फको उपाधि सुर्मादेवी युवा क्लब कैलालीले हात पारेको छ ।‘अटवारी’ पर्व र हरितालिका तीजको उपलक्ष्यमा न्यू युवा सुन्दर शक्ति युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत पुरुषतर्फको फाइनलमा सिआउर सेभेन फुटबल क्लबलाई ०–१ गोलले हराउँदै सुदूरपश्चिम–११ ले उपाधि जितेको हो ।सुदूरपश्चिम–११ का लागि भरत टमाटाले गरेको गोल निर्णायक बन्यो । उपाधिसँगै विजेतालाई रु एक लाखसहित ट्रफी पुरस्कार प्रदान गरिएको छ । उपविजेता सिआउर सेभेनले रु ५० हजारसहित ट्रफी प्राप्त गरेको छ ।पुरुषतर्फ सिआउर सेभेनका किरण योगी सर्वोकृष्ट खेलाडी घोषित भए । सुदूरपश्चिम–११ का भरत टमाटा सर्वाधिक गोलकर्ता र सोही टिमकै आकाश बुढा उत्कृष्ट गोलरक्षक घोषित भए । महिलातर्फको फाइनल प्रतिस्पर्धामा सुर्मादेवी युवा क्लबले पटेला स्मार्ट क्लबलाई टाइब्रेकरमा किनारा लगाउँदै उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए । सुर्मादेवीका लागि विर्सना चौधरी र पटेलाका लागि ममता पुनमगरले गोल गरेकी थिइन् । टाइब्रेकरमा सुर्मादेवीले पटेलालाई ३–१ गोलले हराउँदै उपाधि जित्यो ।सुर्मादेवीका लागि शिवागी स्नेही, विपना स्नेही र अस्मिता चौधरीले गोल गरिन् । विर्सना चौधरी र धना बोहोराले गरेको प्रहार गोलमा परिणत हुन सकेन । पटेलाका लागि कमला विष्टको प्रहारमात्रै गोलमा परिणत हुनसक्यो । ममता पुनमगर, नैना बोहोरा र अनिषा कुँवरले गोल गर्न सकिनन् ।महिलातर्फको विजेता भएसँगै सुर्मादेवीले रु २५ हजारसहित ट्रफी पाउँदा उपविजेता पटेलाले रु १५ हजारसहित ट्रफी पाएको छ । सुर्मादेवीकी विर्सना चौधरी सर्वोकृष्ट खेलाडी, गायत्री मल्ल उत्कृष्ट गोलरक्षक र पटेलाकी ममता पुनमगर सर्वाधिक गोलकर्ता बनिन् । प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई आज एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here