म्याग्दी, १ ,असोज  |

म्याग्दीका अगुवा ज्येष्ठ नागरिक नैनकुमार श्रेष्ठ रु २५ हजारभन्दा बढी पुरस्कार राशिको नानी–शुक स्मृति पुरस्कारबाट सम्मानित हुनुभएको छ ।नानी–सुक स्मृति प्रतिष्ठानले १७ औँ वार्षिकोत्सवका अवसरमा आज पोखरामा बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय श्रेष्ठलाई सम्मान गरेको हो । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई नगद रु २५ हजार पाँच सय २५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मान गर्नुभयो ।म्याग्दीको समग्र विकासमा उहाँले गरेको योगदानका आधारमा सम्मान गरिएको प्रतिष्ठानका संरक्षक वीरेन्द्र हिराचनले बताउनुभयो । म्याग्दी उद्योग वाणिज्य सङ्घका संस्थापक र मानार्थ सदस्य श्रेष्ठले मङ्गला गाउँपालिकाको प्रभात आधारभूत विद्यालयलाई कक्षाकोठा भवन बनाउन निःशुल्क जग्गा उपलब्ध गराउनुभएको छ ।ज्येष्ठ नागरिक समाजका अध्यक्षसमेत रहनु भएका सम्मानित व्यक्तित्व विभिन्न सामाजिक सङ्घसंस्थामा क्रियाशील रहँदै आउनुभएको छ । म्याग्दीमा यानीमाया गाउन होस् वा विभिन्न जात्रामा मौलिक नाच नाच्न उनी सधैँ अघि सर्नुुहुन्छ ।गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर शिक्षा र समाजसेवामा उल्लेख्य योगदान दिने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले प्रतिष्ठानले २०६२ सालमा शुकबहादुर हिराचन र नानीमाया राचनको स्मृतिमा रु नौ लाखको अक्षयकोष स्थापना गरी सोको ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको छ ।यसअघि मुस्ताङका भक्ति हिराचन, कास्कीका अनन्तनाथ पौडेल, कास्कीकै पद्मराज कोइराला, तनहुँका दिव्यरमण अर्याल, बागलुङका पद्मसिं विश्वकर्मा, अर्घाखाँचीका कृष्णप्रसाद पौडेल, लमजुङका पूर्णभद्र नेउपाने र पर्वतका लोकनाथ आचार्य पुरस्कृत हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here