दाङ,३१,भदौ |

दाङका थारुहरु अट्वारी पर्व मनाउन जुटेका छन् । उक्त समुदायको दोस्रो ठूलो पर्वका रुपमा यो पर्व मनाउने गरिन्छ । कुशे औंशी पछिको दोस्रो आइतबारको दिनमा मनाइने यो पर्वलाई अट्वारी भन्ने गरिएको हो । घोराही उपमहानगरपालिका–२ का बिष्णु चौधरीले यस पर्वका लागि मालुका र सालको पातको दुना टपरी खुट्नुका साथै पिठोका बिभिन्न परिकार पकाउने सामाग्री जुटाउनु भएको छ । चेलीबेटीलाई पाहुर (खानेकुरा) दिनुपर्ने भएकाले समाग्री जुटाइएको र रोटीका बिभिन्न परिकार र अन्य खानेकुराको जोरजाम गर्न व्यस्त रहेको उहाँले बताउनुभयो । दाजुभाईले दिदीबहिनीलाई सम्मान गर्ने पर्व भएकाले मिठामिठा परिकार बनाउनुपर्ने चौधरीको भनाइ थियो । दुई दिनसम्म मनाइने यस पर्वमा आइतबार पहिलो दिन सूर्यको बार भएकाले त्यस दिन सूर्यको र पूजा आराधना गरिने थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष अशोक चौधरीले बताउनुभयो ।अट्वारी पर्वमा सूर्यलाई अग्नि र शक्तिका रूपमा पूजा गर्ने प्रचलन छ ।

महाभारतको कथाअनुसार पाण्डवका पाँच भाइमध्ये भीम रोटी पकाउँदा पकाउँदै कौरवहरूसंँग युद्ध लड्न गएको र युद्ध लडेर फर्किंदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटाएको भन्ने किम्बदन्तीअनुसार दिनभर थारु समुदायका पुरुष व्रत बसी भीम जस्तै बलवान हुने कामनाका साथ एकातिर मात्र पकाइएको रोटी चढाएर भीमको पूजा आजा गर्छन् ।अटवारीको पहिलो दिन अर्थात् शनिबार मध्यराति दर खाएर यो पर्व सुरु हुन्छ । शनिबार बेलुका प्रत्येकले आफ्नो घरको पूजाकोठा लिपपोत गर्दछन् ।अट्वारी पूजामा अनदीको रोटी, काँक्रो, दही, केरा, बेलौटीलगायत सामागग्री चढाइन्छ । दोस्रो दिन बिहानै व्रतालु पुरुषले नजिकैको जलाशयमा गई स्नान गरेर रोटी, माछा, विभिन्न प्रकारका परिकार अग्निमा हवन गरेपछि शुद्ध पारी आफ्ना दिदीबहिनीका लागि कोसेली छुट्याउँछन् । अट्वारीलाई एकता, विजय तथा भातृत्व प्रेमका साथै बल र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । छुट्याइएको सामाग्री विवाहित चेलीबेटीको घरमा पु¥याउन जाने चलन भएको थारु अगुवा चौधरीले बताउनुभयो ।त्यस दिन परिवार र आफन्त भेला भएर खानपिन गर्दै रमाइलो गरिन्छ । आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्तसँगको भेटघाट र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिने गरिन्छ ।अट्वारी पर्वमा थारु बाहुल्य रहेका जिल्लाका स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here