म्याग्दी, ३१, भदौ |
मुस्ताङको लोमान्थाङ गाउँपालिकाको वडा नं १ र २ मा पर्ने छोसेरमा ‘एक घर एक धारा’सहितको खानेपानी योजना सम्पन्न भएको छ । चीनको सिमानामा रहेको कोरला नाका नजिकै रहेको छोसेर मुस्ताङको अन्तिम मानव बस्ती हो ।सात वर्षको प्रयासमा सम्पन्न भएको योजनाबाट करिब दुई सय घरधुरी लाभान्वित भएका छन् । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङले उपभोक्ता समितिमार्फत श्रमदानसहित करिब रु एक करोड ५० लाखको लगानीमा छोसेर खानेपानी योजना सम्पन्न गरेको लोमान्थाङ–२ का वडाध्यक्ष कर्म नामगेल गुुरुङले जानकारी दिनुभयो ।“एक सय ८६ घरधुरीमा मिटरसहितको निजी धारा जडान गरेर खानेपानी वितरण भएको छ”, उहाँले भन्नुभयो, ‘‘बाह्र वर्षअघि निर्माण गरेको योजना जीर्ण हुँदा साविक छोसेर गाउँमा खानेपानीको निकै समस्या थियो । सात वर्ष लगाएर योजना सम्पन्न भएपछि घर–घरमा शुद्ध खानेपानीको सुविधा पुगेको छ ।”कोरलानाका नजिकै रहेको च्याउङछु भन्ने स्थानमा रहेको मूलबाट करिब १५ किलोमिटर लामो पाइप लाइनबाट छोसेरमा खानेपानी ल्याइएको उपभोक्ता समितिका अध्यक्ष पासाङ छिरिङले बताउनुभयो । तीस हजार लिटरको एक र २० हजार लिटर क्षमताका दुईवटा ट्याङ्की निर्माण भएको छ ।
समुद्री सतहबाट चार हजार पाँच सय मिटर उचाइको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रको मुहानबाट पानी ल्याइएको छ । एक सय ८० घरधुरीमा निजी धारा र २० वटा सामुदायिक धारा निर्माण गरिएको अध्यक्ष छिरिङले बताउनुभयो ।“सात वर्षअघि योजना सुरु भए पनि कोरोना महामारीका कारण दुई वर्ष बजेट नआएपछि काम हुन सकेन”, उहाँले भन्नुभयो, “आर्थिक वर्ष २०७९÷८० मा पर्याप्त बजेट आएकाले योजनाले पूर्णता पाएपछि वर्षौँदेखिको सपना पूरा भएको छ । गत हप्तादेखि खानेपानी वितरण भएको छ ।” खानेपानीका लागि खर्च हुने समय र श्रमको बचत भएको छ । यसअघि सार्वजनिक धारामा पर्याप्त पानी नआउने समस्या थियो ।योजनालाई दिगोरूपमा सञ्चालन गर्न एक जना हेरालु राखिएको छ । सो योजनामा गत आर्थिक वर्षमा रु ७२ लाख २४ हजार बराबरको काम भएको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सबडिभिजन कार्यालय मुस्ताङका सबइन्जिनियर प्रताप सार्कीले बताउनुभयो ।उहाँका अनुसार चालु आवमा रु छ लाख १७ हजार बराबरको काम भएको छ । कोरोना महामारीका कारण दुई वर्ष काम नभएको र मुहान टाढा भएकाले योजना सम्पन्न गर्न समय लागेको उहाँले बताउनुभयो ।








