भाद्र,३१,रौतहट |
नयाँ नयाँ शैली अपनाएर भारतबाट नेपालमा लागू औषधि भित्र्याउने गरेको रहस्य खुलेको छ । शनिबार यात्रु बोक्ने टेम्पुमा लोड गरिएको चामलको बोराबाट ठूलो परिमाणमा लागू औषधि बरामद भएपछि सो तथ्य बाहिर आएको छ । प्रहरी टोलीले भारतीय सीमासँग जोडिएको सप्तरीको बलान बिहुल गाउँपालिका १ मल्हनियाँ सडकखण्डमा चेकजाँचको क्रममा स.१ ह. ३६८६ नम्बरको टेम्पुबाट ठूलो परिमाणमा लागू औषधि बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।टेम्पुमा लोड गरिएको दुई वटा शिवम् सिमेन्ट लेखिएको बोरा भित्र चामलसँगै प्लास्टिकको कालो झोलामा लुकाइ राखिएको अवस्थामा प्रहरीले १ हजार १ सय ७५ थान फेनारगन, डाइजेपाम र ब्रुफेनरापिन एम्पुल र ट्याब्लेट गरी ३ हजार ५ सय २५ वटा लागू औषधि बरामद गरेको उनले बताए । तस्करले सुरक्षा जाँच छल्न चामलको बोरामा प्याक गरेर उक्त लागू औषधि लुकाएको प्रहरीको भनाइ छ ।लागू औषधि ओसारपोसार गर्ने टेम्पु चालक बलान बिहुल गाउँपालिका ३ का ३० वर्षीय राजेन्द्र राम र उनकै बयानका आधारमा पक्राउ परेका बलान बिहुल गाउँपालिका २ का हरिहर कुमार यादवलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । “तस्करहरुले नयाँ नयाँ शैली अपनाउन थालेका छन्, प्रहरी उपरीक्षक कार्कीले भने– सोही अनुसार हाम्रो पनि निगरानी र रणनीति बन्ने गरेको छ ।” अधिकांश आपराधिक घटना लागू औषधि र मदिराका कारण हुने भएकाले यसको रोकथाम र नियन्त्रणमा कडाइ गर्दै लगिएको उनको भनाइ छ ।पक्राउ परेका राम र यादवलाई लागू औषधि नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढइने उनले जनाए । नेपालमा प्रतिबन्धित रहेका लागू औषधि भारतीय बजारमा खुलेआम बिक्री हुने भएकाले लागू औषधि कारोबारी र यसका कुलतमा फसेकाहरु विभिन्न जुक्ति निकाल्दै लुकाइ छिपाइ नेपाल ल्याउने गरेको प्रहरीको भनाइ छ ।








